रास्वपा संसदमा बलियो उदय : दुई तिहाइका लागि २ सिट अपुग, ६ दल मात्रै राष्ट्रिय पार्टी
२०८२ फाल्गुन २७, बुधबार २१:४४
काठमाडौं, फागुन २७ — फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम मत परिणामले संसदको नयाँ शक्ति समीकरण स्पष्ट गरेको छ। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अत्यन्त बलियो रूपमा उदाएको छ भने पुराना दलहरू नेपाली कांग्रेस र एमाले उल्लेख्य रूपमा खुम्चिएका छन्।
निर्वाचनको समानुपातिक मत परिणामअनुसार ६ वटा दलले मात्र थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। ती दलमा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका छन्।
कुल १ करोड ७ लाख ८५ हजार ८७६ मतमध्ये रास्वपाले ५१ लाख ५७ हजार ९३० मत अर्थात् ४७.८२ प्रतिशत मत प्राप्त गर्दै पहिलो स्थानमा रह्यो। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ५५ हजार ८७२ मत (१६.२८ प्रतिशत) प्राप्त गरेको छ भने तेस्रो स्थानमा एमालेले १४ लाख ५२ हजार ७५८ मत (१३.४७ प्रतिशत) ल्याएको छ।
त्यसैगरी चौथो स्थानमा नेकपाले ८ लाख ९ हजार ५७७ मत (७.५१ प्रतिशत), पाँचौँ स्थानमा श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४१ मत (३.५८ प्रतिशत) र छैटौँ स्थानमा राप्रपाले ३ लाख ३० हजार २६८ मत (३.०६ प्रतिशत) मत प्राप्त गरेका छन्।
प्रत्यक्षतर्फ पनि रास्वपाले प्रभावशाली प्रदर्शन गर्दै १२५ सिट जितेको छ। कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृतिले ३ र राप्रपाले १ सिट जितेका छन्। एक सिट स्वतन्त्र उम्मेदवारले जितेका छन्।
समानुपातिक सिट बाँडफाँड अनुसार रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले ४–४ सिट प्राप्त गर्ने भएका छन्।
यसरी प्रत्यक्ष र समानुपातिक सिट जोड्दा प्रतिनिधिसभामा रास्वपाको १८२ सिट पुग्ने देखिएको छ, जुन दुई तिहाइ बहुमत (१८४ सिट) भन्दा २ सिट कम हो। त्यसैगरी कांग्रेसको ३८, एमालेको २५, नेकपाको १७, श्रम संस्कृतिको ७, राप्रपाको ५ सिट हुनेछन् भने १ स्वतन्त्र सांसद रहनेछन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अहिले विभिन्न निर्वाचन क्षेत्रबाट समानुपातिक मतगणनाको अन्तिम प्रतिवेदन सङ्कलन भइरहेको छ।
त्यसपछि दलहरूले पाउने सिट संख्या यकिन गरी उम्मेदवार सिफारिस गर्न सम्बन्धित दललाई पत्राचार गरिनेछ।
यस परिणामले नयाँ संसदमा रास्वपाको निर्णायक भूमिका रहने संकेत गरेको छ।




