काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेकपा (एमाले)का सचिव महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहीबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई जनही ५० हजार रुपैयाँ तथा अन्य आठ जनालाई जनही २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

शोभा भनिने जानुका पाठकले दिएको ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो। अदालतको आदेशसँगै अभियुक्तहरू धरौटी बुझाएर रिहा हुने भएका छन्।

धरौटीमा छुट्ने अन्य व्यक्तिहरूमा गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सविना केसी, कमला बस्नेत र निता खत्री रहेका छन्।

पछिल्लो समय राजनीतिक व्यक्तित्वसँग जोडिएका मुद्दाहरू अदालतमा पुग्ने क्रम बढिरहेका बेला यो प्रकरणले पनि सार्वजनिक चासो तानेको छ।