८ विश्वविद्यालयमा नयाँ नेतृत्व खोजी
२०८३ बैशाख २५, शुक्रबार ०९:२५सरकारले उपकुलपति नियुक्ति प्रक्रिया अघि बढायो

काठमाडौं विराटपाटी, सरकारले देशका ८ वटा विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत गठन गरिएको छनोट तथा सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य तथा इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरेको हो।
नयाँ उपकुलपति नियुक्ति प्रक्रिया सुरु गरिएका विश्वविद्यालयहरूमा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय रहेका छन्।
सरकारले हालै स्वीकृत गरेको “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३” अनुसार आवेदन प्रक्रिया अघि बढाइएको हो। इच्छुक उम्मेदवारलाई आवेदन दिन १० दिनको समयसीमा तोकिएको छ।
शिक्षा मन्त्रालयले आवेदन फाराम, योग्यता तथा छनोट प्रक्रिया सम्बन्धी विस्तृत जानकारी मन्त्रालयको वेबसाइटमा उपलब्ध गराएको जनाएको छ। यसअघि सरकारले विशेष अध्यादेशमार्फत तत्कालीन उपकुलपतिहरूलाई पदमुक्त गरेपछि नयाँ नियुक्ति प्रक्रिया सुरु गरिएको हो।
उच्च शिक्षाको नेतृत्व परिवर्तनलाई सरकारले सुधारको प्रयासका रूपमा प्रस्तुत गरे पनि विश्वविद्यालयमा राजनीतिक प्रभाव, भागबन्डा र शैक्षिक स्वायत्तताको विषय फेरि चर्चामा आएको छ।
लामो समयदेखि नेपालको विश्वविद्यालय प्रणाली नेतृत्व संकट, शैक्षिक गुणस्तर र राजनीतिक हस्तक्षेपका कारण आलोचनामा पर्दै आएको छ।




