रास्वपाको फोकस: सक्षम र प्रभावकारी सांसद
२०८३ बैशाख २६, शनिबार १०:२५
काठमाडौ ,रास्वपाले आफ्ना सांसदहरूलाई संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिन सुरु गरेको छ।
‘सक्षम सांसद, सशक्त संसद’ भन्ने नारासहित सुरु भएको यो कार्यक्रम ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा सञ्चालन भइरहेको छ।
प्रशिक्षणमार्फत सांसदहरूको कानुनी, नीतिगत तथा संसदीय क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखिएको पार्टीले जनाएको छ। कार्यक्रममा पार्टी, सरकार र संसदबीचको समन्वय, संसदीय समितिको भूमिका, दलीय व्यवस्थापन, राजनीतिक मनोविज्ञान, कूटनीतिक सम्बन्ध तथा नैतिक आचरणलगायत विषयमा प्रशिक्षण दिइनेछ।
कार्यक्रमको उद्घाटन उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले गरेका हुन् भने समापनमा सभापति रवि लामिछानेले विशेष निर्देशनात्मक मन्तव्य दिने तालिका रहेको छ।
रास्वपाले आफ्ना सांसदलाई प्रभावकारी, जिम्मेवार र सक्षम बनाउने उद्देश्यसहित यस्तो प्रशिक्षण आयोजना गरेको हो।




