बजेट अधिवेशन सोमबारदेखि, सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुँदै
२०८३ बैशाख २७, आईतवार १८:५७
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु हुने भएको छ । अधिवेशनको पहिलो दिन नै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम तय गरिएको छ।
राष्ट्रपति रामचन्द्र पाैडेलले सोमबार अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने संसद् सचिवालयले जनाएको छ।
संविधानको व्यवस्था अनुसार प्रत्येक वर्षको पहिलो अधिवेशनमा राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ। नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकमा सांसदहरूलाई अपराह्न ३ः४५ बजेसम्म उपस्थित हुन आग्रह गरिएको छ।
त्यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाउने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी जानकारी गराउने तथा विभिन्न संसदीय कार्यसूची अघि बढाइनेछ।
संसद्मा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ तथा ‘संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३’ लगायत आठ वटा अध्यादेश पनि पेस गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।




