काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैलीमाथि कडा असन्तुष्टि जनाएको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले संसद्मा बोल्दै सरकार नागरिकप्रति अभिभावकजस्तो हुनुपर्नेमा “यमदूतजस्तो क्रूर” बनेको आरोप लगाए ।

अव्यवस्थित बसोबास व्यवस्थापनको नाममा सरकारले सुकुम्वासी तथा विपन्न समुदायमाथि अमानवीय व्यवहार गरेको भन्दै उनले राज्यले नागरिकको आत्मसम्मान कुल्चिएको टिप्पणी गरे । गरिब बस्तीमा सुरक्षाकर्मीको दमनकारी शैली देखिएको आरोप लगाउँदै उनले सरकार संवेदनहीन बनेको बताए ।

आङ्देम्बेले वर्तमान अधिवेशन “असामान्य परिस्थिति” बीच सुरु भएको उल्लेख गर्दै संसद् स्थगन गरेर अध्यादेशमार्फत ठूलो संख्यामा कानुन ल्याइएको विषयमा पनि आपत्ति जनाए । उनले यसले संसदीय गरिमा, लोकतान्त्रिक मूल्य र संसद्को अधिकार कमजोर बनाएको दाबी गरे ।

सरकारलाई सामाजिक सञ्जालमार्फत मात्रै खोज्नुपर्ने अवस्था आएको टिप्पणी गर्दै उनले लोकतन्त्र संवाद, बहस र सहकार्यको प्रणाली भएको स्मरण गराए । “लोकतन्त्र बन्द कोठाको शासन होइन,” भन्दै उनले जनप्रतिनिधिका आवाजलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताए ।

उनले सरकारको सयबुँदे घोषणा लोकप्रियतावादी बन्न सक्ने चिन्ता व्यक्त गर्दै कार्यान्वयनमा कमजोर देखिएको आरोप लगाए । भ्रष्टाचारविरुद्ध चर्का भाषण गर्ने सरकारले आफ्नै गृहमन्त्रीमाथि लागेको आरोपमा छानबिन नगरेको भन्दै उनले प्रश्नसमेत उठाए ।

कांग्रेसले सरकारका सकारात्मक काममा सहयोग गर्ने प्रतिबद्धता दोहोर्याए पनि संविधान, मानवअधिकार र लोकतान्त्रिक अभ्यास कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएको छ ।