सातै प्रदेशमा सत्ता फेरबदलको तयारी
२०८३ जेष्ठ ६, बुधबार ०९:४४
मधेशबाट सुरु भयो नयाँ सत्ता समीकरणको अभ्यास
काठमाडौँ । संघीय राजनीतिमा नयाँ सत्ता समीकरणको गृहकार्य तीव्र बनेसँगै अब सातै प्रदेश सरकारमा हेरफेर हुने संकेत देखिएको छ । नेपाली काग्रेस ,एमाले र कम्युनिस्ट पार्टी बीच केन्द्रस्तरमा भइरहेको छलफलपछि प्रदेश सरकारहरूको शक्ति बाँडफाँट अन्तिम चरणमा पुगेको स्रोतहरूको दाबी छ ।
मधेश प्रदेश सरकारमा एमाले सहभागी हुने तयारीसँगै प्रदेश राजनीतिमा नयाँ अध्याय सुरु भएको राजनीतिक वृत्तको विश्लेषण छ । कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै आएको एमाले अब प्रत्यक्ष रूपमा सरकारमै जाने तयारीमा पुगेको बताइएको छ ।
एमालेका नेताहरूका अनुसार मधेशमा तीन दलबीच साझा सहकार्यको मोडेल बनाउने विषयमा छलफल अन्तिम चरणमा पुगेको छ । यससँगै अन्य प्रदेशमा पनि सत्ता समीकरण फेरिने सम्भावना बलियो बनेको छ ।
उच्च राजनीतिक स्रोतहरूका अनुसार अहिले कांग्रेस र एमालेले समान तीन–तीन प्रदेश तथा माओवादी केन्द्रलाई एक प्रदेशको नेतृत्व दिने गरी सहमति खोजिरहेका छन् ।
स्रोतका अनुसार:मधेश प्रदेशमा कांग्रेस नेतृत्व कायम रहने सुदूरपश्चिम प्रदेश माओवादी केन्द्रले पाउने,बागमती, गण्डकी र कर्णालीमा एमालेको दाबी रहने,कोशी वा लुम्बिनीमध्ये एक प्रदेश कांग्रेसले पाउनेगरी प्रारम्भिक समझदारी बनेको बताइएको छ ।यद्यपि शीर्ष नेताहरूबीच अन्तिम सहमति हुन बाँकी रहेको जनाइएको छ ।
मधेश प्रदेशलाई अहिले नयाँ सत्ता समीकरणको ‘प्रारम्भिक केन्द्र’का रूपमा हेरिएको छ । कांग्रेस नेतृत्वको सरकारमा एमाले सहभागी भएपछि प्रदेशमा प्रतिपक्ष कमजोर हुने र केन्द्रको नयाँ समीकरणलाई बल पुग्ने विश्लेषण भइरहेको छ ।
मधेशमा जसपालाई समेत सहकार्यमा ल्याउने प्रयास भइरहेको बताइएको छ । त्यसैगरी जनमत र लाेसपा लगायत दलहरूको भूमिकाले पनि सरकार गठनलाई प्रभाव पार्ने देखिएको छ ।
केन्द्रमा सहमति जुटेपछि अब प्रदेश सरकारहरूमा:मन्त्री परिवर्तन,नयाँ गठबन्धन,विश्वासको मत,मन्त्रालय बाँडफाँट जस्ता राजनीतिक गतिविधि तीव्र हुने सम्भावना देखिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार यो नयाँ सत्ता समीकरणले आगामी राष्ट्रिय राजनीति, संसदको शक्ति सन्तुलन तथा २०८४ को चुनावी रणनीतिमा समेत प्रत्यक्ष प्रभाव पार्न सक्छ ।




