विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बहुआयामिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङ ले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको कार्यक्रममा सडक विस्तार, ऊर्जा विकास, पर्यटन प्रवर्द्धन, वन संरक्षण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको छ ।

सरकारले स्रोत सुनिश्चित भएका बहुवर्षीय योजनालाई समयमै सम्पन्न गर्न विशेष अनुगमन प्रणाली लागू गर्ने जनाएको छ । प्रदेशभर सडक सञ्जाल विस्तार, पुल मर्मत तथा गुणस्तरीय निर्माणका लागि प्राविधिक जनशक्ति परिचालन गरिनेछ । निर्माण सामग्री परीक्षणका लागि मनमोहन प्राविधिक विश्वविद्यालय को प्रयोगशाला उपयोग गरिने नीति लिइएको छ ।

ऊर्जा क्षेत्रमा सामुदायिक विद्यालयमा रुफटप सोलार प्लान्ट जडान, राजमार्गसँग जोडिएका सहरमा सोलार बत्ती विस्तार तथा निजी क्षेत्रसँग सहकार्य गरी सौर्य ऊर्जा परियोजना अघि बढाइने भएको छ । साना जलविद्युत् आयोजना र सबै नागरिकमा विद्युत् पहुँच विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ ।

वन तथा वातावरणतर्फ रेड पाण्डा संरक्षण केन्द्र स्थापना, वन्यजन्तुमैत्री पर्यटन विकास, वृक्षारोपण अभियान तथा वन डढेलो नियन्त्रण कार्यक्रमलाई निरन्तरता दिइनेछ । जडीबुटी, चित्रो र ऐँसेलुमा आधारित उद्योग सञ्चालनका लागि कानुनी तथा नीतिगत व्यवस्था गर्ने सरकारको योजना छ ।

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले २०८३ साउनदेखि २०८५ सम्म “कोसी प्रदेश भ्रमण वर्ष” मनाउने घोषणा गरेको छ । हिल स्टेशन विकास, वेलनेस हब, साधना ग्राम र हिमाली ध्यान केन्द्र निर्माणलाई प्रोत्साहन गरिने उल्लेख गरिएको छ ।

प्रदेश सरकारले स्वदेशी उत्पादन, हरित ऊर्जा र पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउने लक्ष्य अघि सारेको जनाएको छ ।