हेटौँडा कपडा उद्योग फेरि सञ्चालन गर्ने तयारी तीव्र

हेटौंडा विराटपाटी ,वर्षौँदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग लाई पुनः सञ्चालनमा ल्याउने तयारी सरकारले अगाडि बढाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव ले हेटौँडा औद्योगिक क्षेत्रको निरीक्षण गर्दै उद्योग पुनर्जीवन सरकारको प्राथमिकतामा रहेको बताएकी हुन्।

मन्त्री यादवले उद्योगका जीर्ण संरचना, मेसिन तथा पूर्वाधारको अवस्थाबारे जानकारी लिँदै आवश्यक मर्मत, व्यवस्थापन र लगानी मोडालिटीमा मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिइन्। उनका अनुसार बन्द तथा रुग्ण सरकारी उद्योग पुनः सञ्चालन गर्ने नीति अन्तर्गत हेटौँडा कपडा उद्योगलाई विशेष प्राथमिकता दिइएको छ।

वि.सं. २०३५ सालबाट उत्पादन सुरु गरेको यो उद्योग कुनै समय देशकै प्रमुख सरकारी उद्योगमध्ये एक मानिन्थ्यो। उद्योगमा करिब १२ सय श्रमिक कार्यरत थिए भने नेपाली सेनाका लागि समेत कपडा उत्पादन हुँदै आएको थियो। तर राजनीतिक हस्तक्षेप, बन्द–हडताल र आर्थिक घाटाका कारण उद्योग २०५७ सालमा बन्द भएको थियो।

सरकारको पछिल्लो सक्रियतासँगै उद्योग पुनः सञ्चालन भए मकवानपुरसहित आसपासका जिल्लामा रोजगारी वृद्धि, स्थानीय अर्थतन्त्र चलायमान तथा स्वदेशी उत्पादन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ। लामो समयदेखि थला परेको औद्योगिक क्षेत्रलाई पुनर्जीवित गर्ने सरकारको प्रयासलाई धेरैले सकारात्मक रूपमा हेर्न थालेका छन्।