जन्मदर्तादेखि राहदानीसम्म झुटो विवरणको आरोप, अदालतबाट पक्राउ पुर्जी

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेपछि राजनीतिक तथा प्रशासनिक वृत्तमा नयाँ तरंग पैदा भएको छ।

अदालतले मेयर सिंहसहित चार जनाविरुद्ध सरकारी कागजातमा झुटो विवरण पेश गरी जन्मदर्ता, नागरिकता तथा राहदानी बनाइएको आरोपमा पक्राउ आदेश जारी गरेको हो। प्रहरी स्रोतका अनुसार उक्त प्रकरणमा अर्काकी छोरीलाई आफ्नै सन्तानका रूपमा देखाइएको दाबी गरिएको छ।

यो मुद्दा गत जेठ १ गते अदालतमा दर्ता भएको थियो। त्यसयता कानुनी प्रक्रिया अघि बढ्दै जाँदा अदालतले अनुसन्धानका लागि पक्राउ अनुमति दिएको बताइएको छ।

स्थानीय तहको नेतृत्वमा रहेका व्यक्तिमाथि यस्ता प्रकृतिका आरोप लाग्नुले सार्वजनिक पदको विश्वसनीयता र प्रशासनिक नैतिकतामाथि प्रश्न उठाएको टिप्पणी हुन थालेको छ। कानुनविद्हरूका अनुसार सरकारी अभिलेखसँग सम्बन्धित मुद्दालाई अदालतले गम्भीर रूपमा लिने भएकाले आगामी प्रक्रिया थप चासोको विषय बन्न सक्छ।

उता, घटनापछि वीरगञ्जको राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्। समर्थकहरूले घटनालाई राजनीतिक रूपमा प्रेरित कदम भनेका छन् भने आलोचकहरूले निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन्।