चितवनबाट नेपालले औषधि उद्योगमा नयाँ सम्भावनाको ढोका खोलेको छ। भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित जायोडिन बायोटेक उद्योगले क्यान्सर उपचारमा प्रयोग हुने औषधिको कच्चा पदार्थ उत्पादन सुरु गर्दै भारतमा निर्यातसमेत थालेको छ।

नेपाली जडीबुटीको आधुनिक प्रशोधनमार्फत उत्पादन गरिएको यो सामग्री अहिले अन्तर्राष्ट्रिय बजारसम्म पुग्न थालेपछि नेपाल औषधिजन्य कच्चा पदार्थ उत्पादनमा पनि अगाडि बढ्न सक्ने संकेत देखिएको छ। उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीका अनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन भइरहेको कच्चा पदार्थको मूल्य प्रतिकिलो आठ लाखदेखि २५ लाख रुपैयाँसम्म पर्ने गरेको छ।

उद्योगले हाल दुई प्रकारका कच्चा पदार्थ उत्पादन गरिसकेको छ भने आगामी दिनमा १० देखि १२ प्रकारसम्म विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ। हेटौँडाको बसामाडीस्थित इभान्स लाइफ साइन्स उद्योगमार्फत लौठसल्लो प्रशोधन गरी सहायक पदार्थ तयार पारिन्छ र त्यसलाई चितवनमा थप प्रशोधन गरिन्छ।

नेपालका ४० देखि ४५ जिल्लामा पाइने लौठसल्लोबाट ठूलो आर्थिक सम्भावना देखिएको उद्योगको दाबी छ। वार्षिक १ हजार ५ सय टन लौठसल्लोबाट २ देखि ३ हजार किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने अनुमान गरिएको छ। अहिले उद्योगको मासिक उत्पादन क्षमता ७० देखि ८० किलो रहेको बताइएको छ।

भारतपछि पाकिस्तान, बङ्गलादेशलगायत एसियाली बजारमा समेत निर्यात विस्तार गर्ने योजना उद्योगले अघि सारेको छ। यसले जडीबुटीमा धनी नेपाललाई औषधिजन्य उद्योगको नयाँ केन्द्रका रूपमा चिनाउने सम्भावना बढाएको छ।