पुर्ण वजेट पनि रहेको छ

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएपछि देशभर आर्थिक, राजनीतिक र सामाजिक बहस तीव्र बनेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गर्दै उत्पादन, उद्योग, स्वास्थ्य, कृषि र कर प्रणालीमा नयाँ संकेत दिएका छन् ।

सरकारले चालुतर्फ १२ खर्ब ७० अर्ब, पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरेको छ । राजस्वबाट १४ खर्ब ४ अर्ब उठाउने लक्ष्य राखिएको छ भने बाँकी रकम वैदेशिक सहायता, ऋण र आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने योजना छ ।

यस वर्षको बजेटमा विशेष गरी औद्योगिक उत्पादन र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको देखिन्छ । इथानोल उत्पादन गर्ने उद्योगलाई सरकारले तोकिएको खरिद मूल्यको ग्यारेन्टी गर्ने घोषणा गरेको छ । यसले नेपालमा वैकल्पिक ऊर्जा, चिनी उद्योग र कृषि आधारित उद्योगलाई नयाँ सम्भावना दिने विश्लेषण भइरहेको छ ।

त्यस्तै सरकार–निजी क्षेत्र सहकार्यमा ग्रिन युरिया मल उद्योग सञ्चालन गर्ने घोषणा पनि गरिएको छ । कृषिमा आत्मनिर्भरता र आयात घटाउने उद्देश्यसहित आएको यो योजना दीर्घकालीन रूपमा महत्त्वपूर्ण मानिएको छ ।

स्वास्थ्य क्षेत्रमा सरकारले सरकारी अस्पतालमा बालबालिकामा हुने क्यान्सर रोगको उपचार निःशुल्क गर्ने घोषणा गरेको छ । यसलाई सामाजिक सुरक्षा र स्वास्थ्य पहुँच विस्तारतर्फ सकारात्मक कदमका रूपमा हेरिएको छ ।

कर प्रणालीमा पनि केही महत्वपूर्ण व्यवस्था गरिएको छ । आयकरको न्यूनतम सीमा १० लाख रुपैयाँ कायम गरिएको छ भने अधिकतम कर दर २९ प्रतिशत राखिएको छ । यसले मध्यम वर्ग र व्यवसायिक क्षेत्रलाई केही राहत दिने अपेक्षा गरिएको छ ।

बजेटसँगै सरकारी अस्पताल निर्माण वैज्ञानिक नक्सांकनपछि मात्रै अघि बढाइने, प्रहरी तथा सशस्त्रको सेवा र पेन्सन अवधिबारे पुनरावलोकन अध्ययन गरिने तथा सार्वजनिक संस्थानहरूलाई सार्वजनिक–निजी साझेदारी मोडलमा लैजाने संकेतले प्रशासनिक सुधारतर्फ सरकार अघि बढ्न खोजेको देखिन्छ ।

तर विपक्षी दल, अर्थविद् र निजी क्षेत्रबाट भने कार्यान्वयन क्षमतामाथि प्रश्न उठ्न थालेका छन् । पूँजीगत खर्चको कमजोर अवस्था, वैदेशिक ऋणको बढ्दो भार र राजस्व संकलनको चुनौती अहिले पनि प्रमुख चिन्ताको विषय बनेका छन् ।

यद्यपि बजेटले उत्पादनमुखी अर्थतन्त्र, उद्योग प्रवर्द्धन र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर नयाँ आर्थिक दिशा खोज्ने प्रयास गरेको देखिएको विश्लेषण गरिएको छ

पुर्ण वजेटकाे लिंक

https://drive.google.com/file/d/1hGkvy9bc7IqIiFxaQPJH9Q9UECsg1_ul/view?usp=drivesdk