विराटपाटी अनलाइन

काठमाडौं । जीवनमा सफलता प्राप्त गर्न ठूलो पूँजीभन्दा ठूलो सपना, अथक मेहनत र हार नमान्ने साहस चाहिन्छ। यही सत्यलाई आफ्नै जीवनबाट प्रमाणित गरेका छन् सिद्धार्थ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपानेले।

गुल्मीको सामान्य परिवारमा जन्मिएका न्यौपाने १३ जना दाजुभाइ तथा दिदीबहिनीमध्ये एक थिए। ठूलो परिवार र कमजोर आर्थिक अवस्थाले गर्दा सानै उमेरमा उनले संघर्षको बाटो रोज्नुपर्‍यो। भविष्यको खोजीमा उनी भारत पुगे।

भारतमा उनले रेस्टुरेन्टदेखि होटलसम्म विभिन्न काम गरे। मेहनत र लगनशीलताले उनलाई होटल क्षेत्रमा हेड सेफको जिम्मेवारीसम्म पुर्‍यायो। त्यसपछि साडी कम्पनीमा पनि काम गर्दै व्यवस्थापक (म्यानेजर) पदसम्म पुगे। राम्रो आम्दानी, सुरक्षित जागिर र सहज जीवन हुँदाहुँदै पनि उनको मनमा एउटा सपना सधैं जीवित थियो, आफ्नै देशमा आफ्नै व्यवसाय गर्ने।

यही सपनालाई पछ्याउँदै उनले करिब एक दशकको भारत बसाइ अन्त्य गरे र नेपाल फर्किए।

नेपाल फर्किएपछि कैलालीको टिकापुरमा एउटा खाली जग्गा भाडामा लिए। बाँस गाडेर त्रिपाल टाँगे र सानो टहरोबाट मम र चाउमिन बेच्न थाले। उनले आफ्नो व्यवसायको नाम राखे, ‘सिद्धार्थ स्न्याक्स’

त्यो बेला उनी नै मालिक थिए, उनी नै भान्से, उनी नै भाँडा माझ्ने कर्मचारी र उनी नै वेटर। कुनै कामलाई सानो नठानी दिनरात पसिनासँग संघर्ष गरिरहे।

उनको इमानदार सेवा, स्वादिष्ट परिकार र ग्राहकप्रतिको समर्पणले चमत्कार गर्‍यो। केही समयमै टहरोमा ग्राहकको भीड लाग्न थाल्यो। व्यवसाय विस्तार भयो। टहरोबाट व्यवस्थित भवनमा सरेर रेस्टुरेन्ट सञ्चालन गरे। त्यसपछि गेस्ट हाउससमेत सञ्चालनमा ल्याए।

तर उनको सपना यतिमै सीमित थिएन।

उनले ठूलो जोखिम उठाउँदै १६ लाख रुपैयाँमा जग्गा खरिद गरे र सिद्धार्थ होटल सञ्चालनमा ल्याए। त्यतिबेला धेरैले उनलाई चेतावनी दिए, “यति राम्रो जागिर छोडेर व्यवसायमा लाग्यौ, डुब्छौ।”

तर उनी आलोचनाबाट विचलित भएनन्। बरु त्यसलाई प्रेरणाको स्रोत बनाए।

समयसँगै सिद्धार्थ होटल सफलताको नयाँ उचाइ चढ्न थाल्यो। टिकापुरबाट सुरु भएको यात्रा नेपालगञ्ज हुँदै काठमाडौंसम्म फैलियो। सानो टहरोबाट सुरु भएको त्यो सपना आज नेपालको अग्रणी आतिथ्य समूह सिद्धार्थ हस्पिटालिटी का रूपमा स्थापित भएको छ।

हाल समूहअन्तर्गत पाँचतारे होटलसहित दर्जनौं होटल तथा रिसोर्ट सञ्चालनमा छन्। देशका विभिन्न स्थानमा कम्पनीको महत्वपूर्ण जग्गाजमिन र लगानी विस्तार भइसकेको छ।

लक्ष्मण न्यौपानेको जीवनयात्रा केवल एक व्यवसायीको सफलता कथा होइन, यो संघर्ष, आत्मविश्वास र निरन्तर मेहनतको जीवित उदाहरण हो। उनले देखाएका छन् कि सपना देख्ने आँट, मेहनत गर्ने बानी र हार नमान्ने अठोट भए टहरोबाट पनि पाँचतारे सफलता निर्माण गर्न सकिन्छ।