रङ्गशालाको अधुरो सपना पूरा गर्न फेरि मैदानमा धुर्मुस
२०८३ जेष्ठ २४, आईतवार १८:४३
काठमाडौं । कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ करिब छ महिनापछि अमेरिका बसाइँ छोट्याएर नेपाल फर्किएका छन्। उनको नेपाल आगमनको मुख्य उद्देश्य चितवनस्थित गौतम बुद्ध क्रिकेट रङ्गशालासँग जोडिएको वर्षौंदेखिको आर्थिक विवाद समाधान गर्नु हो।
छोरीको उपचारका लागि परिवारसहित अमेरिका गएका धुर्मुसले त्यहाँ आवश्यक उपचार प्रक्रिया अगाडि बढाएपछि अब रङ्गशालाको बाँकी हिसाबकिताब टुंग्याउन नेपाल फर्किएको बताइएको छ। अमेरिकाले प्रदान गरेको विशेष श्रेणीको ग्रीनकार्डका कारण उनकी छोरीको उपचार सहज र निःशुल्क रूपमा भइरहेको छ।
धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको गौतम बुद्ध क्रिकेट रङ्गशाला आर्थिक अभावका कारण अधुरै रह्यो। फाउन्डेसनले निर्माणाधीन संरचना भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरे पनि निर्माणका क्रममा विभिन्न आपूर्तिकर्ताबाट उधारोमा लिइएका सामग्रीको करिब १८ करोड रुपैयाँभन्दा बढी रकम अझै भुक्तानी हुन सकेको छैन।
विगत पाँच वर्षदेखि धुर्मुसले केन्द्र सरकार, मन्त्रालय र स्थानीय तह धाउँदै समस्या समाधानको प्रयास गर्दै आएका छन्। मन्त्रिपरिषद्ले दुईपटक रकम निकासा गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेन। यद्यपि विभिन्न सरकारी निकायको छानबिनबाट कुनै आर्थिक अनियमितता नभएको निष्कर्ष सार्वजनिक भइसकेको छ।
गत आर्थिक वर्षमै रङ्गशालाको सम्पत्ति खरिदका लागि १५ करोड रुपैयाँ विनियोजन भएर भरतपुर महानगरको खातामा पुगेको भए पनि उक्त रकम हालसम्म वितरण गरिएको छैन। असार मसान्तसम्म निकासा नभए रकम पुनः फिर्ता जाने सम्भावना रहेको छ।
यसबीच नयाँ राजनीतिक परिस्थितिले धुर्मुसमा आशा जगाएको छ। प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले समस्या समाधानमा पहल गर्ने अपेक्षा उनले राखेका छन्। भरतपुर महानगरमा पनि रकम भुक्तानीका विषयमा सकारात्मक वातावरण बन्दै गएको बताइन्छ।
कानूनमन्त्री साेविता गाैतमले समेत यो विषयमा चासो देखाउँदै आपूर्तिकर्ताहरूसँग छलफल सुरु गरेकी छन्। मन्त्रालयबाट थप स्पष्टता आएपछि रोकिएको रकम वितरण प्रक्रिया अगाडि बढ्ने विश्वास सम्बन्धित पक्षहरूको छ।
धुर्मुसका लागि यो केवल आर्थिक हिसाब मिलाउने विषय मात्र होइन, नेपाली जनताको सहयोगबाट सुरु भएको एउटा राष्ट्रिय सपनालाई पुनर्जीवित गर्ने प्रयास पनि हो। अब सबैको नजर वर्षौंदेखि अल्झिएको रङ्गशालाको ऋण विवाद कहिले र कसरी टुंगिन्छ भन्नेमा केन्द्रित भएको छ।




