अर्थमन्त्रीमाथि छानबिनको माग, बजेट हेरफेरलाई ‘राजद्रोह’को संज्ञा
२०८३ जेष्ठ २५, सोमबार १४:३६
काठमाडौं, जेठ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्ले माथि संसदीय छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले बजेट निर्माण प्रक्रियामा करका दरहरू हेरफेर गरिएको आरोप लगाउँदै त्यसलाई गम्भीर प्रकृतिको कार्य भएको बताए। उनले यस्ता विषयमा सरकारले आफैं छानबिन गरेर मन्त्रीहरूलाई उन्मुक्ति दिने परिपाटी अन्त्य हुनुपर्ने धारणा राखे।
उनले विगतका सरकारहरूमा पनि मन्त्रीहरूविरुद्ध प्रश्न उठ्दा सरकारले नै समिति बनाएर अनुसन्धान गरेको र अन्ततः सम्बन्धित व्यक्तिहरूलाई निर्दोष सावित गर्ने काम भएको टिप्पणी गरे। शाहीका अनुसार कर दर परिवर्तनजस्तो संवेदनशील विषय अर्थमन्त्री, अर्थ सचिव र राजस्व सचिवको प्रत्यक्ष जिम्मेवारीभित्र पर्ने भएकाले यसको निष्पक्ष अनुसन्धान आवश्यक छ।
राप्रपा नेताले सरकार सुशासनको नारा लिएर बने पनि व्यवहारमा कुशासनतर्फ उन्मुख भएको आरोप लगाए। उनले मन्त्रीमाथिको छानबिन कार्य कार्यपालिका अन्तर्गत नभई संसदको मातहतमा रहने संसदीय समितिबाट हुनुपर्नेमा जोड दिए।
शाहीले बजेट तथा कर नीतिमा भएको भनिएको हस्तक्षेपबारे सत्यतथ्य सार्वजनिक गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै पारदर्शिता र जवाफदेहिताको सिद्धान्तलाई कमजोर पार्न नहुने बताए।
राजनीतिक वृत्तमा बजेट निर्माण प्रक्रियासँग सम्बन्धित विवादबारे विभिन्न दलहरूले चासो व्यक्त गरिरहेका बेला शाहीको यो अभिव्यक्तिले विषयलाई थप राजनीतिक बहसको केन्द्रमा ल्याएको छ।




