काठमाडौ ,नेपालको ऊर्जा पूर्वाधार विकासमा महत्त्वपूर्ण मानिएको एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत दुई ठूला सबस्टेशन र लामो दूरीको विद्युत् प्रसारण लाइन निर्माणको काम औपचारिक रूपमा सुरु भएको छ।

नुवाकोटस्थित रातमाटेमा आयोजित कार्यक्रममा रातमाटे र न्यू दमौली सबस्टेशनसँगै २९७ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन निर्माणको शिलान्यास गरिएको हो। यो परियोजना अमेरिकाको ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७ करोड अमेरिकी डलर लगानीमा अघि बढिरहेको छ।

परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा, रातमाटे–न्यू दमौली तथा न्यू दमौली–न्यू बुटवल खण्डमा प्रसारण लाइन निर्माण हुनेछ। समग्र रूपमा एमसीसी परियोजनाले तीनवटा ४०० केभी क्षमताका आधुनिक सबस्टेशन र ३१५ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्य लिएको छ।

सरकारी अधिकारीहरूका अनुसार यो पूर्वाधारले नेपालको विद्युत् प्रसारण प्रणालीलाई थप बलियो बनाउने, विद्युत् चुहावट तथा अवरोध घटाउने र उद्योग, व्यवसाय तथा घरपरिवारलाई भरपर्दो विद्युत् उपलब्ध गराउने अपेक्षा गरिएको छ। साथै भारतसहित क्षेत्रीय विद्युत् बजारमा नेपालको सहभागिता विस्तार गर्न पनि यसले सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

अर्थ सचिव तथा एमसीए-नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले ऊर्जा सुरक्षा, औद्योगिक विस्तार र आर्थिक समृद्धिका लागि प्रसारण पूर्वाधार सुदृढ हुनु अत्यावश्यक रहेको बताए।

नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले यो परियोजनालाई नेपालको ऊर्जा भविष्य निर्माण गर्ने आधारशिला भएको उल्लेख गर्दै यसले घर, उद्योग र कृषिक्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताए।

निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली सबस्टेशन नेपालकै सबैभन्दा ठूला उच्च-भोल्टेज सबस्टेशनमध्ये पर्नेछन्। परियोजनाको निर्माण कार्य विभिन्न अन्तर्राष्ट्रिय तथा नेपाली निर्माण कम्पनीहरूले संयुक्त रूपमा गरिरहेका छन्।

ऊर्जा उत्पादनमा उल्लेखनीय प्रगति गरेको नेपालका लागि अब चुनौती विद्युत् उत्पादन होइन, त्यसलाई प्रभावकारी रूपमा प्रसारण र बजारसम्म पुर्‍याउनु हो। एमसीसीअन्तर्गत सुरु भएको यो परियोजना त्यसै चुनौती समाधान गर्ने दिशामा एक महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।