विराटचाैकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको पहिलो अधिवेशनबाट चन्द्र राई सभापतिमा निर्वाचित भएका छन्। उनले ४ जना प्रतिस्पर्धीलाई पछि पार्दै स्पष्ट बहुमत प्राप्त गरेका हुन्।

निर्वाचनमा राईले २८० मत ल्याए भने उनकी निकटतम प्रतिस्पर्धी गोमा तामाङ (सरीन) १४१ मतमा रोकिइन्। अन्य उम्मेदवारमध्ये डा. खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत प्राप्त गरे। कुल ४९० मत खसेकोमा ४८९ मत सदर भएको थियो।

निर्वाचित राई यसअघि प्रदेश कोषाध्यक्षको जिम्मेवारीमा थिए। भोजपुर घर भएका उनी लामो समयदेखि इटहरीमा जुत्ता–चप्पल व्यवसायमा संलग्न छन्। एसएलसीपछि आर्थिक कारणले थप अध्ययन गर्न नसके पनि उनले व्यवसायलाई अघि बढाउँदै पार्टी राजनीतिमा सक्रियता बढाएका हुन्।

पराजित उम्मेदवार गोमा तामाङले निर्वाचन परिणाम स्वीकार गर्दै मतदाताप्रति आभार व्यक्त गरेकी छन्। उनले आजैदेखि सक्रिय राजनीतिबाट अलग हुने घोषणा समेत गरेकी छन्।

यो अधिवेशनसँगै कोशी प्रदेशमा रास्वपाको संगठनात्मक नेतृत्व औपचारिक रूपमा नयाँ टिममा पुगेको छ।