काठमाडौं, असार ५ । रवि लामिछाने विरुद्ध दायर गरिएको संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

न्यायाधीश आत्मदेव जाेशी को इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम उक्त अभियोग हटाउन स्वीकृति दिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधनका लागि अदालतमा निवेदन दायर गरेको थियो। अदालतले उक्त निवेदन स्वीकार गर्दै लामिछानेसहितका प्रतिवादीमाथिको संगठित अपराधको अभियोग हटाएको जनाएको छ।

यद्यपि, सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने अदालतको आदेशमा उल्लेख छ। यससँगै लामिछानेविरुद्धको कानुनी प्रक्रिया सहकारी ठगी मुद्दामा केन्द्रित हुने भएको छ।

उक्त निर्णयलाई लामिछाने पक्षले राहतका रूपमा हेरेको छ भने सहकारी ठगीसम्बन्धी मुख्य मुद्दाको सुनुवाइ भने निरन्तर अगाडि बढ्नेछ।