काठमाडौं, असार ५ – ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मुक्कुम्लुङ–पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनालाई लिएर लामो समयदेखि जारी विवाद समाधान गर्न सरकारले विशेष कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णयअनुसार प्रधानमन्त्रीका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदललाई विवादका मूल कारण पहिचान गरी सरोकारवालाबीच सहमतिको वातावरण निर्माण गर्ने तथा समाधानका ठोस सुझाव १५ दिनभित्र सरकारसमक्ष पेश गर्ने जिम्मेवारी दिइएको छ।

कार्यदलमा केवलकार निर्माणप्रति असहमति जनाउँदै आएका पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिका प्रतिनिधि, पूर्वाधार विकास मन्त्रालयका प्राविधिक अधिकारी, परियोजना निर्माण कम्पनीका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव तथा प्रधानमन्त्री कार्यालयका प्रतिनिधिहरू सदस्यका रूपमा समावेश छन्।

सरकारले धार्मिक आस्था, स्थानीय समुदायको चासो, वातावरणीय पक्ष र विकासका आवश्यकतालाई सन्तुलित ढंगले सम्बोधन गर्ने उद्देश्यले सबै पक्षको सहभागितामा कार्यदल गठन गरिएको जनाएको छ।

पाथीभरा केवलकार परियोजना पछिल्लो समय कोशी प्रदेशको प्रमुख सार्वजनिक बहसको विषय बनेको छ। परियोजनाका समर्थकहरूले पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तार हुने तर्क गर्दै आएका छन् भने विरोधी पक्षले धार्मिक, सांस्कृतिक तथा वातावरणीय असरबारे चिन्ता व्यक्त गर्दै आएका छन्।

नवनिर्मित कार्यदलको प्रतिवेदनले विवाद समाधान र परियोजनाको आगामी दिशाबारे महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।