मुस्ताङमा पर्यटकको बाढी, ११ महिनामै ७ लाखभन्दा बढीले गरे भ्रमण
२०८३ असार ६, शनिबार १८:२१
मुस्ताङ अहिले नेपाली तथा विदेशी पर्यटकहरूको प्रमुख गन्तव्य बनेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामै ७ लाख ५ हजार ७५४ पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्, जुन संख्या अघिल्लो आर्थिक वर्षको पूरै वर्षभरि पुगेको पर्यटक संख्याको लगभग बराबर हो।
म्याग्दीको बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने पर्यटकको तथ्यांक अनुसार १ लाख ५१ हजारभन्दा बढी सवारीसाधनमार्फत ४ लाख ६० हजार ९२४ स्वदेशी तथा २ लाख ४४ हजार ८३० विदेशी पर्यटक मुस्ताङ पुगेका छन्।
सबैभन्दा बढी चहलपहल जेठ महिनामा देखिएको थियो। उक्त महिनामा मात्रै १ लाख ३० हजारभन्दा बढी पर्यटक मुस्ताङ पुगेका थिए। भारतीय पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको छ, जसले बाह्य पर्यटकमध्ये करिब ८० प्रतिशत हिस्सा ओगटेका छन्।
मुक्तिनाथ मन्दिरको दर्शन, कागबेनीमा श्राद्ध तथा तर्पण, लोमान्थाङको ऐतिहासिक संस्कृति, कोरला नाका, हिमाली दृश्यावलोकन तथा मुस्ताङको विशिष्ट भूगोल पर्यटक आकर्षणका प्रमुख केन्द्र बनेका छन्।
पर्यटकको अत्यधिक चापका कारण बेनी, गलेश्वर, तातोपानी र दाना क्षेत्रका होटल तथा पर्यटन व्यवसायहरू समेत भरिभराउ हुन थालेका छन्। प्राकृतिक सौन्दर्य, सांस्कृतिक मौलिकता र धार्मिक महत्वका कारण मुस्ताङ नेपालको सबैभन्दा लोकप्रिय पर्यटकीय गन्तव्यका रूपमा थप स्थापित हुँदै गएको देखिन्छ।




