भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा सुरु हुँदैछ। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ।

रास्वपाका प्रवक्ता मनिष झाले पत्रकार सम्मेलनमार्फत देशभर तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिए। महाधिवेशनका लागि आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत आवश्यक व्यवस्थापन पूरा गरिएको उनले बताए।

महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गर्ने कार्यक्रम रहेको छ।

महाधिवेशनले पार्टीको संगठनात्मक संरचनामा महत्वपूर्ण परिवर्तन गर्ने तयारी गरेको छ। हाल १२१ सदस्यीय रहेको केन्द्रीय समिति विस्तार गरी १५१ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ। साथै पदाधिकारी तहमा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने गरी विधान संशोधन गरिएको छ।

पार्टीले आगामी राजनीतिक रणनीति, संगठन सुदृढीकरण तथा नयाँ नेतृत्व चयनलाई महाधिवेशनको मुख्य एजेन्डा बनाएको छ। महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधिको सहभागिता रहने जनाइएको छ।

रास्वपाले हालसम्म देशभरका ६१० पालिका र चार हजार ६३ वडामा अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ।