विराटनगर , हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी–हाटखोला सडक खण्डको दुरवस्थाले फेरि एकपटक राज्य संयन्त्रको कमजोर कार्यशैली उजागर गरेको छ। वर्षा लाग्नेबित्तिकै हिलाम्मे र सुक्खा याममा धुलाम्मे बन्ने यो सडकले हजारौं नागरिकलाई वर्षौंदेखि सास्ती दिँदै आएको छ।

स्थानीय जनताले सडकमा उत्रिनु, सवारी साधन घण्टौं फस्नु र प्रहरीसमेत हिलाम्मे सडकमा संघर्ष गर्न बाध्य हुनु दुःखद मात्र होइन, राज्यप्रतिको जनआस्थामाथिको प्रश्न पनि हो।

कोशी प्रदेश सरकारका मन्त्री भीम पराजुलीले जनताको पीडा आफूले बुझेको र नयाँ ठेक्का प्रक्रियामार्फत निर्माण कार्य अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जनप्रतिनिधिका रूपमा उहाँले समस्या स्वीकार गर्दै समाधानको प्रतिबद्धता जनाउनु सकारात्मक पक्ष हो।

तर अब जनताले आश्वासनभन्दा परिणाम खोजिरहेका छन्। वर्षौंसम्म अधुरो रहेको यो राष्ट्रिय गौरवको आयोजना अब कुनै पनि बहानामा अल्झिनु हुँदैन। सम्बन्धित निकाय, निर्माण कम्पनी र सरकार सबैले जिम्मेवारीबोध गर्दै तत्काल निर्माण प्रक्रिया अघि बढाउनुपर्छ।

जनताको धैर्यको पनि सीमा हुन्छ। अब कटहरीवासीले भाषण होइन, कालोपत्रे सडकमा यात्रा गर्ने दिन देख्न चाहेका छन्।