विदेशी विद्यार्थीको कोटा बढाउने तयारीमा सरकार
२०८३ असार ९, मंगलवार १६:०३
काठमाडौं, असार ९ – सरकारले नेपालमा मेडिकल शिक्षा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरूको संख्या बढाउने तयारी गरेको छ। विदेशी विद्यार्थीहरूको आकर्षण विशेषगरी मेडिकल शिक्षामा केन्द्रित भएकाले कोटा विस्तार गर्ने नीतिगत तयारी थालिएको सरकारले जनाएको छ।
संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चुडामणि पौडेलले हाल नेपालका विभिन्न विश्वविद्यालयमा करिब १ हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको जानकारी दिए।
सचिव पौडेलका अनुसार विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि सहज वातावरण सिर्जना गर्न ‘स्टुडेन्ट भिसा’ प्रक्रियालाई थप सरल बनाउने विषयमा गृह मन्त्रालयसँग छलफल भइरहेको छ।
उनले विदेशी विद्यार्थीहरूका बीच मेडिकल शिक्षाप्रति अत्यधिक आकर्षण देखिएकाले सो क्षेत्रमा कोटा वृद्धि गर्ने विषयमा सरकार नीतिगत निर्णयको चरणमा पुगेको बताए।
सरकारको यो कदमले नेपालको मेडिकल शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रतिस्पर्धी र आकर्षक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।




