दुहबीमा झण्डै ९० करोडको लगानी, कोशीमा अर्बौंका चार परियोजना अघि बढ्दै
२०८३ असार ११, बिहीबार १९:२१
विराटनगर । कोशी प्रदेश सरकारले सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणाअन्तर्गत चारवटा ठूला परियोजनालाई लगानी स्वीकृति दिएको छ। ती परियोजनामा कुल दुई अर्ब आठ करोड ५३ लाख रुपैयाँ बराबरको लगानी हुने भएको छ।
स्वीकृत परियोजनामध्ये सुनसरीको दुहबी नगरपालिका मुख्य आकर्षणका रूपमा देखिएको छ। दुहबी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन तथा मल्टी च्याम्बर कोल्ड स्टोरेजसहित एग्रो प्रोसेसिङ परियोजना सञ्चालन हुने भएका छन्। यी दुई परियोजनामा मात्रै झण्डै ९० करोड रुपैयाँ लगानी हुने जनाइएको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको कोशी लगानी प्राधिकरणको ३३औँ बैठकले यी परियोजनालाई स्वीकृति प्रदान गरेको हो। प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाका अनुसार, लगानी सम्मेलनका क्रममा समझदारी भएका परियोजनालाई कार्यान्वयनको चरणमा लगिएको हो।
दुहबीमा सञ्चालन हुने फोहोरमैला व्यवस्थापन परियोजनामा करिब ५६ करोड रुपैयाँ लगानी हुने छ। काठमाडौंस्थित रिभाइभ इन्फ्राटेक एन्ड इन्भेस्टमेन्ट कम्पनीले उक्त परियोजना अघि बढाउने भएको छ। यस्तै, कृषि उत्पादनको भण्डारण तथा प्रशोधनलाई टेवा पुर्याउने उद्देश्यसहित मल्टी च्याम्बर कोल्ड स्टोरेज तथा एग्रो प्रोसेसिङ परियोजनामा ३४ करोड रुपैयाँ लगानी गरिनेछ।
यसैगरी, उदयपुरको बेलका नगरपालिकामा २० करोड रुपैयाँ लागतमा फोहोरमैला व्यवस्थापन परियोजना निर्माण हुने भएको छ। सुनसरीको रामधुनी नगरपालिका–७ स्थित रास ताल क्षेत्रमा करिब ९९ करोड रुपैयाँ लगानीमा पूर्वाधार विकास तथा सञ्चालनको योजना अघि बढाइएको छ।
कोशी लगानी प्राधिकरणले यसअघि प्रदेशकै नमुना परियोजनाका रूपमा भेडेटार स्काइ वाक सञ्चालनमा ल्याइसकेको छ। उक्त परियोजनाबाट प्रदेश सरकारसहित तीन तहका सरकारले राजस्वसमेत प्राप्त गर्न थालेका छन्।
प्राधिकरणका अनुसार, कोशी प्रदेश लगानी सम्मेलनमार्फत समझदारी भएका अधिकांश निजी क्षेत्रका परियोजना अहिले निर्माणको चरणमा प्रवेश गरिसकेका छन्। साथै, रानीदेखि विराटनगर बसपार्कसम्म पदमार्ग निर्माण, ग्रीन हाइड्रोजन, बायोइथानोल, लिम्चुङबुङ केबलकार, राजारानी पर्यटकीय परियोजना तथा गुप्तवाराहा मोनोरेलजस्ता महत्वाकांक्षी परियोजनाहरू पनि विभिन्न चरणमा रहेका छन्।
प्राधिकरणले आगामी आर्थिक वर्षभित्र थप परियोजनालाई लगानी स्वीकृति दिने तयारी गरिरहेको जनाएको छ।




