काठमाडौं । पहिलो महाधिवेशन सम्पन्न भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने पार्टीको बाँकी नेतृत्व संरचना टुंग्याउने गृहकार्यमा सक्रिय भएका छन्। पार्टी विधानले सभापतिलाई पदाधिकारी, सचिवालय सदस्य तथा केन्द्रीय सदस्य मनोनयन गर्ने व्यापक अधिकार दिएको छ।

पार्टी स्रोतका अनुसार लामिछानेले विभिन्न समूह, समायोजनमार्फत आएका नेताहरू तथा संस्थापक सदस्यहरूसँग निरन्तर छलफल गरिरहेका छन्। महाधिवेशनलाई ‘एकता महाधिवेशन’ का रूपमा लिइएकाले सबै पक्षलाई समेटेर समावेशी नेतृत्व निर्माण गर्ने प्रयास भइरहेको बताइएको छ।

रास्वपामा समायोजन भएर आएका समूह, युवा पुस्ताका प्रतिनिधि, दलित, थारु, महिला तथा विज्ञ व्यक्तित्वलाई नेतृत्व तहमा स्थान दिने तयारी भइरहेको नेताहरूको भनाइ छ। पार्टीभित्र कुनै गुट वा विभाजन नभएको र सबैलाई साझा नेतृत्वमा समेटिने दाबी नेताहरूले गरेका छन्।

महाधिवेशनबाट केही पदाधिकारी निर्वाचित भइसके पनि अझै पार्टी प्रवक्ता, कोषाध्यक्षसहित महत्वपूर्ण जिम्मेवारी रिक्त छन्। त्यसैले निकट भविष्यमा नै केही पदाधिकारी मनोनयन गरिने सम्भावना रहेको बताइएको छ। विशेषगरी प्रवक्ता र कोषाध्यक्षको जिम्मेवारी तत्काल टुंग्याउन नेताहरूले सभापतिमाथि दबाब दिइरहेका छन्।

पार्टीभित्र प्रवक्ता, उपसभापति तथा महामन्त्रीका बाँकी पदहरूमा विभिन्न नेताहरूको नाम चर्चामा रहे पनि अन्तिम निर्णय भने सभापति लामिछानेकै विवेकमा निर्भर रहने देखिएको छ। मनोनयन गर्दा क्षमता, अनुभव, समावेशिता र पार्टी एकतालाई मुख्य आधार बनाइने नेताहरूको भनाइ छ।

त्यसैगरी सचिवालय सदस्य तथा केन्द्रीय सदस्य मनोनयनमा पनि विविध समुदाय, क्षेत्र र समूहलाई प्रतिनिधित्व गराउने रणनीति अपनाइने जनाइएको छ। पार्टीको विधानअनुसार सभापतिले आवश्यकता अनुसार क्रमशः केन्द्रीय सदस्य थप्दै जाने अधिकार राख्छन्।

बुधबार हुने शपथग्रहण कार्यक्रमपछि बस्ने पहिलो केन्द्रीय समिति बैठकले केही महत्वपूर्ण निर्णय लिन सक्ने अनुमान गरिएको छ। महाधिवेशनपछि अब पार्टी संगठनलाई थप सुदृढ बनाउने र एकीकृत ढंगले अघि बढ्ने तयारीमा रास्वपा जुटेको छ।