काठमाडौं, असार १९। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपतिबाट उनको नियुक्ति गरिएको हो।

डा. थापा यसअघि काठमाडौं विश्वविद्यालयको उपकुलपति रहिसकेका अनुभवी शिक्षाविद् हुन्। इन्जिनियरिङ शिक्षा, ऊर्जा प्रविधि, जलविद्युत् तथा अनुसन्धानका क्षेत्रमा उनको लामो योगदान रहेको मानिन्छ।

मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका उनले टर्बाइन प्रविधिमा स्नातकोत्तर तथा हाइड्रोलिक मेसिनमा बालुवाका कणका कारण हुने क्षरण (Erosion) विषयमा विद्यावारिधि गरेका छन्। उनले सरकारी सेवाबाट व्यावसायिक यात्रा सुरु गरेपछि काठमाडौं विश्वविद्यालयमा उपप्राध्यापक, प्राध्यापक, सहायक डिन, कार्यकारी डिन, रजिस्ट्रार हुँदै २०७७ माघमा उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए।

विद्यालय तहको शिक्षा कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलबाट तथा प्रवीणता प्रमाणपत्र तह अमृत साइन्स क्याम्पसबाट पूरा गरेका डा. थापा अब देशकै सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको नेतृत्वमा आएका छन्।

उनको नियुक्तिसँगै त्रिभुवन विश्वविद्यालयमा शैक्षिक सुधार, अनुसन्धानको विस्तार, प्रशासनिक सुशासन तथा गुणस्तरीय उच्च शिक्षाको अपेक्षा गरिएको छ।