काठमाडौं । नेपाली कांग्रेसको इतर समूहले आगामी साउन ६ गते काठमाडौंमा बृहत् राजनीतिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ। बीपी स्मृति दिवसको अवसरमा हुने कार्यक्रममार्फत पार्टीभित्र एकताको सन्देश दिँदै १५ औँ महाधिवेशनलाई केन्द्रमा राखेर आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको बैठकपछि नेता मीन विश्वकर्माले कार्यक्रमको स्थान र विस्तृत कार्यतालिका चाँडै सार्वजनिक गरिने जानकारी दिए। उनका अनुसार आगामी बैठकले १५ औँ महाधिवेशनको रणनीति, सम्पर्क कार्यालयका गतिविधि तथा आवश्यक राजनीतिक निर्णयहरू टुंग्याउनेछ।

इतर समूहले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राखेको भए पनि त्यसका लागि भएका प्रयास प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ। नेतृत्व तहबाट सकारात्मक पहल नभए वैकल्पिक राजनीतिक विकल्पबारे पनि छलफल भइरहेको उनीहरूको भनाइ छ।

समूहको दाबी अनुसार आयोग र अदालतबाट वैधानिकता प्राप्त कार्यसमितिलाई स्वीकार गर्दै त्यसबाट बाहिर रहेका नेताहरूलाई पनि समेटेर १५ औँ महाधिवेशनलाई “एकताको महाधिवेशन” बनाउने प्रयास जारी रहनेछ।

पार्टीभित्र बढ्दो ध्रुवीकरण रोक्न र एकताको पक्षमा दबाब सिर्जना गर्ने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको जनाइएको छ। इतर समूहले कांग्रेस अहिले एकताभन्दा विभाजनतर्फ उन्मुख देखिएको भन्दै त्यसलाई रोक्न सामूहिक पहल आवश्यक रहेको धारणा व्यक्त गरेको छ।