काठमाडौं, असार २३ । महोत्तरीका दुई चिनी उद्योगमा उखु बिक्री गरेका किसानले यस वर्षको अधिकांश भुक्तानी प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बुझाइएको उखुको मूल्यबापत हालसम्म १ अर्ब ७६ करोड ५२ लाख ४६ हजार ४५५ रुपैयाँ किसानको खातामा भुक्तानी भइसकेको छ।

गौशाला नगरपालिका–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिज र गौशाला–१२ स्थित सिद्धिविनायक सुगर एण्ड केमिकल इन्डष्ट्रिज मा किसानले कुल २८ लाख ६७ हजार ९ सय ८६ क्विन्टल ९६ किलो उखु बिक्री गरेका थिए। उक्त उखुको कुल मूल्य १ अर्ब ७७ करोड ३४ लाख ३७ हजार २३२ रुपैयाँ रहेको प्रशासनको अभिलेखमा उल्लेख छ।

प्रशासकीय अधिकृत कामेश्वर यादवका अनुसार बाँकी रहेको रकम पनि छिट्टै किसानलाई उपलब्ध गराइनेछ। साथै, सरकारले उपलब्ध गराउने उखु अनुदानअन्तर्गत २० करोड ७ लाख ५९ हजार ११७ रुपैयाँ भुक्तानीका लागि कोष तथा लेखा नियन्त्रक कार्यालय महोत्तरीमा सिफारिस गरिसकिएको छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भुक्तानी समितिले आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले उखुको बाँकी मूल्य र सरकारी अनुदान दुवै असार मसान्तभित्र किसानलाई वितरण गरिसक्ने लक्ष्य रहेको जनाएको छ।