पर्सा । पर्साको ठोरी नाकामा भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको प्रवेश पुनः सुचारु भएको छ। ठोरी छोटी भन्सार कार्यालयले निःशुल्क भन्सार सुविधा पास उपलब्ध गराउन थालेपछि भारतीय सवारीसाधनको आवागमन पुनः सामान्य बनेको हो।

गत असार १९ गतेदेखि भारतीय चारपांग्रे सवारीसाधनको प्रवेश रोकिएपछि स्थानीय व्यवसायी, पर्यटन व्यवसायी तथा सर्वसाधारणले विरोध जनाएका थिए। यसले सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन तथा आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको स्थानीयको भनाइ थियो।

यसबीच प्रतिनिधिसभामा पर्सा क्षेत्र नम्बर ४ का सांसद टेकबहादुर शाक्यले ठोरी तथा भिस्वा–जानकीटोलाबाट भारतीय सवारी प्रवेशमा लगाइएको रोक हटाउन सरकारको ध्यानाकर्षण गराएका थिए। साथै, ठोरीका पर्यटन व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै समस्या समाधानको माग गरेका थिए।

सरकारी निकाय, स्थानीय सरोकारवाला तथा भन्सार प्रशासनबीच भएको पहलपछि भारतीय सवारी प्रवेशलाई सहजीकरण गर्ने सहमति जुटेको हो। भन्सार कार्यालयका अनुसार भारतीय नम्बर प्लेटका सवारीसाधनले निःशुल्क सुविधा पास लिएपछि ठोरी बजार तथा आसपासका पर्यटकीय क्षेत्रको भ्रमण गर्न सक्नेछन्।

मंगलबार बीआर २२ पीए ०३९२ नम्बरको भारतीय सवारीले पहिलो पटक निःशुल्क सुविधा पास लिएर ठोरी बजार प्रवेश गरेसँगै व्यवस्था औपचारिक रूपमा पुनः कार्यान्वयनमा आएको छ।

भारतीय पर्यटकको आवागमन पुनः सुरु भएसँगै ठोरी क्षेत्रको पर्यटन प्रवर्द्धन, व्यापारिक गतिविधि र सीमावर्ती अर्थतन्त्रले नयाँ गति लिने अपेक्षा गरिएको छ।