कोशीसहित पाँच प्रदेशमा धेरै भारी वर्षाको चेतावनी
२०८३ असार २४, बुधबार ११:१९
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा आज मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा केही क्षेत्रमा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा अहिले नै मध्यम वर्षा भइरहेको छ।
दिउँसो र रातिको समयमा मेघगर्जन, चट्याङ तथा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। हिमाली भूभागका केही क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको छ।
विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र, मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बाढी, डुबान र पहिरोको जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन अनुरोध गरिएको छ।




