नेपालमा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित ग्लोबल आइएमई बैंकले नयाँ उद्यमी, स्टार्टअप तथा साना र मझौला व्यवसायीका लागि ‘ग्लोबल आइएमई उद्यमशाला’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। बैंकले कार्यक्रमका लागि इच्छुक व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ।

उद्यमशालाअन्तर्गत व्यवसाय विस्तार र विकासका लागि दुई प्रकारका कार्यक्रम सञ्चालन गरिनेछन्। सञ्चालनमा रहेका व्यवसायका लागि दुई हप्ते ‘बिजनेस एक्सेलेरेशन’ कार्यक्रम र व्यवसाय सुरु गर्ने योजनामा रहेका व्यक्तिहरूका लागि पाँचदेखि छ महिनासम्मको ‘बिजनेस इन्क्युबेशन’ कार्यक्रम सञ्चालन गरिनेछ।

एक्सेलेरेशन कार्यक्रममा सहभागी हुने व्यवसायीहरूले कानुनी प्रक्रिया, वित्तीय व्यवस्थापन, बजार विस्तार, उत्पादन तथा सेवा सुधार, नाफा वृद्धि र स्रोत व्यवस्थापनसम्बन्धी अनुभवी मेन्टर तथा विज्ञबाट प्रत्यक्ष मार्गदर्शन प्राप्त गर्नेछन्।

त्यसैगरी, इन्क्युबेशन कार्यक्रमले नयाँ उद्यमीलाई व्यवसाय दर्ता, व्यवसायिक योजना निर्माण, लेखा प्रणाली, सञ्चालन व्यवस्थापन, बजार रणनीति र उद्यमशीलता विकासका विषयमा आवश्यक तालिम तथा परामर्श उपलब्ध गराउनेछ।

कार्यक्रममा नेपालमा दर्ता भएका स्टार्टअप, साना तथा मझौला उद्यम, व्यवसायिक अवधारणा भएका नेपाली नागरिक तथा संस्थाहरूले आवेदन दिन सक्नेछन्। प्रविधि, कृषि, पर्यटन, उत्पादन तथा सेवा क्षेत्रलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।

बैंकका अनुसार महिला, सीमान्तकृत समुदाय, दुर्गम क्षेत्रका उद्यमी तथा फरक क्षमता भएका व्यक्तिहरूलाई छनोट प्रक्रियामा प्राथमिकता प्रदान गरिनेछ।

छनोट भएका सहभागीहरूले अनुभवी मेन्टरबाट मार्गदर्शन, व्यवसाय विकाससम्बन्धी तालिम, वित्तीय परामर्श, डिजिटल उपकरण प्रयोगसम्बन्धी ज्ञान, लगानी तथा ऋण तयारीमा सहयोग तथा व्यवसायिक सञ्जाल विस्तारको अवसर प्राप्त गर्नेछन्। कार्यक्रम पूरा गर्ने सहभागीलाई प्रमाणपत्र समेत प्रदान गरिनेछ।

यो कार्यक्रम प्रत्यक्ष रूपमा ऋण वा अनुदान वितरण गर्ने योजना नभए पनि सहभागीलाई बैंक तथा लगानीकर्तासँग जोड्ने, वित्तीय रूपमा व्यवस्थित बन्न सहयोग गर्ने र व्यवसायलाई लगानीका लागि तयार बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

इच्छुक व्यक्तिहरूले बैंकको आधिकारिक आवेदन फाराममार्फत आफ्नो व्यवसाय वा व्यवसायिक अवधारणासहित आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रियामा व्यवसायको अवस्था, नवीनता, आम्दानीको मोडल, चुनौती तथा आगामी योजनासम्बन्धी विवरण उल्लेख गर्नुपर्नेछ।

सहभागी छनोट गर्दा व्यवसायिक सम्भावना, नवप्रवर्तन, दिगोपन, रोजगारी सिर्जनाको क्षमता तथा आवेदकको प्रतिबद्धतालाई मुख्य आधार बनाइने बैंकले जनाएको छ।