विराटनगरस्थित भाटभटेनी सुपरमार्केट १० महिनापछि पुनः सञ्चालनमा आएको छ। गत वर्ष जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त बनेको सुपरमार्केटको पुनर्निर्माण सम्पन्न भएपछि शनिबारदेखि औपचारिक रूपमा सेवा सुरु गरिएको हो।

गत भदौ २४ गते भएको घटनापछि बन्द रहेको भाटभटेनीलाई पुनः सञ्चालनमा ल्याउन निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको थियो। व्यवस्थापन पक्षले तीन सिफ्टमा निरन्तर काम सञ्चालन गर्दै छोटो समयमै पुनर्निर्माण सम्पन्न गरेको जनाएको छ।

विराटनगरको प्रमुख किनमेल गन्तव्यका रूपमा परिचित भाटभटेनी पुनः खुलेसँगै पहिलो दिनदेखि नै उपभोक्ताको उल्लेखनीय उपस्थिती देखिएको छ। लामो समयपछि सुपरमार्केट सञ्चालनमा आएपछि स्थानीय व्यवसायिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

भाटभटेनीको पुनः सञ्चालनले विराटनगरको व्यापारिक क्षेत्रलाई थप चलायमान बनाउने र उपभोक्तालाई एकै स्थानबाट विविध सामग्री खरिद गर्ने सुविधा पुनः उपलब्ध गराउने विश्वास गरिएको छ।