Oplus_131072

काठमाडौं, असार २८ । भारत सरकारको विदेश मन्त्रालयका अतिरिक्त सचिव तथा नेपाल र भुटान हेर्ने उत्तरी विभाग प्रमुख मन्नु महावर ऊर्जा तथा जलस्रोतसम्बन्धी द्विपक्षीय बैठकमा सहभागी हुन भोलि नेपाल आउने भएका छन्।

उनी असार २९ गते काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। नेपाल भ्रमणका क्रममा उनले नेपाल सरकारका परराष्ट्र मन्त्री शिशिर खनाल सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।

महावरले नेपाल र भारतबीच ऊर्जा तथा जलस्रोत क्षेत्रको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना हुने संयुक्त समिति तथा संयुक्त कार्यदलको बैठकमा सहभागिता जनाउनेछन्।

दुई देशबीचको ऊर्जा संयन्त्रसम्बन्धी उक्त बैठक असार ३० र ३१ गते काठमाडौंमा आयोजना हुने तय भएको छ। बैठकमा सीमापार विद्युत् व्यापार, प्रसारण लाइन विस्तार तथा जलस्रोत विकाससँग सम्बन्धित विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीच पछिल्ला वर्षहरूमा ऊर्जा क्षेत्रमा सहकार्य उल्लेखनीय रूपमा विस्तार हुँदै गएको सन्दर्भमा यस भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।