काठमाडौं जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्तिम फैसला सुनाउँदै पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझीसहित राजनीतिक र प्रशासनिक उच्च तहका व्यक्तिहरूलाई दोषी ठहर गरेको छ। अदालतले मंगलबार सजाय निर्धारण गर्दै संलग्न प्रतिवादीहरूमाथि कैद र जरिवानाको फैसला गरेको हो।

यसै प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएको छ भने पूर्वगृहसचिव टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारीलगायत अन्य प्रतिवादीहरू पनि विभिन्न कसुरमा दोषी ठहर भएका छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा रकम असुल्ने कार्यमा राजनीतिक तथा प्रशासनिक तहसम्मको संलग्नता देखिएको भन्दै यो प्रकरणलाई नेपालको पछिल्लो समयकै सबैभन्दा चर्चित र संवेदनशील भ्रष्टाचार तथा संगठित अपराधका घटनामध्ये एक मानिएको छ।

अदालतको फैसलालाई प्रभावशाली राजनीतिक व्यक्तिहरू पनि कानुनी दायराभन्दा माथि नरहेको सन्देशका रूपमा हेरिएको छ।