१०८ धारासहित नयाँ स्वरूपमा चम्किँदै रामधुनी मन्दिर, धार्मिक पर्यटनमा वृद्धि
२०८३ श्रावण १, शुक्रबार ०९:४६
सुनसरीको रामधुनी नगरपालिका–४ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्वको रामधुनी मन्दिर पछिल्ला वर्षहरूमा तीव्र रूपमा विकास भइरहेको छ। मन्दिर परिसरमा निर्माण गरिएका १०८ धारा, धर्मशाला तथा अन्य पूर्वाधारका कारण यहाँ आउने भक्तजन र पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ।
धार्मिक विश्वासअनुसार त्रेतायुगमा भगवान श्रीराम वनवासका क्रममा यस स्थानमा एक रात विश्राम गरेका थिए र आफ्ना खराउ यहीँ छाडेका थिए। यही आस्थासँग जोडिएको रामधुनी आज पूर्वी नेपालको प्रमुख धार्मिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
जंगलको बीचमा रहेको यस पवित्र स्थलमा दैनिक रूपमा श्रद्धालुहरू पुग्ने गरेका छन्। विशेषगरी रामनवमी, शिवरात्रि, तीज, विवाहपञ्चमी तथा ऋषिपञ्चमीका अवसरमा यहाँ भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार संघीय सरकार, रामधुनी नगरपालिका तथा विभिन्न निकायहरूको सहयोगमा मन्दिर क्षेत्रको पूर्वाधार विकासलाई तीव्रता दिइएको छ। संघीय सरकारको एक करोड ३५ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको १०८ धारा अहिले मन्दिरको प्रमुख आकर्षण बनेको छ। यसले तीर्थयात्रीलाई स्नानको सुविधा उपलब्ध गराउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
त्यसैगरी संघीय सरकार र रामधुनी नगरपालिकाको संयुक्त लगानीमा दुई करोड रुपैयाँ लागतको धर्मशाला निर्माण कार्य पनि अघि बढिरहेको छ। कोशी प्रदेश पर्यटन कार्यालय विराटनगरको ५० लाख रुपैयाँ सहयोगमा तपस्वीथानमा सिँढी निर्माण तथा सीताकुण्ड आसपास टायल बिछ्याउने काम सम्पन्न भइसकेको छ। साथै गुठी संस्थानको सहयोगमा सीताको मूर्ति निर्माण गरिएको छ।
मन्दिर परिसरमा प्रवेशद्वार, कमलकुण्ड वरिपरि रेलिङ, घेराबार लगायतका संरचना निर्माण सम्पन्न भएका छन्। यसका अतिरिक्त रामदरबार, अष्टचिरञ्जीवी मन्दिर, श्रीयन्त्र मन्दिर, श्रीचन्द्र बाबा वनस्खण्डी तथा प्रीतमदास मन्दिर निर्माणका कार्यहरू पनि अगाडि बढिरहेका छन्।
इटहरीबाट भ्रमणका लागि आएका एक श्रद्धालु सन्जोग श्रेष्ठका अनुसार १०८ धाराको निर्माणले रामधुनीको आकर्षण अझ बढाएको छ। उनका अनुसार यस्ता पूर्वाधारले धार्मिक पर्यटनलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्नेछन्।
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र आधुनिक पूर्वाधारको समिश्रणले रामधुनी मन्दिरलाई पूर्वी नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा स्थापित गरिरहेको स्थानीयवासीहरू बताउँछन्।




