बाल स्वास्थ्य सेवाको सुदृढीकरणमा योगदान पुर्‍याउने उद्देश्यले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

एक विशेष कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहोनीले संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई उक्त रकम हस्तान्तरण गरेका हुन्। कार्यक्रममा कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको समेत उपस्थिति रहेको थियो।

नेपालमा आधुनिक तथा बहु-विशेषज्ञता सम्पन्न बाल अस्पताल निर्माण गर्ने लक्ष्यसहित अघि बढिरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बाल हृदय रोग, क्यान्सर उपचार, मानसिक स्वास्थ्य तथा सघन उपचार सेवाजस्ता महत्वपूर्ण क्षेत्रमा विशेष प्राथमिकता दिँदै आएको छ।

रिलायबल नेपाल लाइफको यो सहयोगले बाल स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न, आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुर्‍याउन तथा हजारौं बालबालिका र उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कम्पनीले स्वास्थ्य, शिक्षा र सामाजिक विकासका क्षेत्रमा निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ। आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यमा सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।