उच्च अदालतको आदेशपछि बुद्ध एयरमा शिवानी बस्नेतको सञ्चालक बन्ने बाटो खुल्यो
२०८३ श्रावण २, शनिबार २०:३४
काठमाडौं। उच्च अदालत पाटनले बुद्ध एयर प्रालिको सञ्चालक नियुक्तिसम्बन्धी विवादमा महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले ‘ख’ वर्गका सेयरधनीको तर्फबाट देव्यानी बस्नेतलाई सञ्चालक सदस्य नियुक्त गर्ने निर्णय बदर गर्दै कम्पनी रजिस्ट्रार कार्यालयको स्वीकृतिलाई पनि अमान्य ठहर गरेको हो।
विवाद बुद्ध एयरको सेयर स्वामित्वसँग जोडिएको थियो। ४० प्रतिशत सेयरधनी समूहले शिवानी बस्नेतलाई सञ्चालकका रूपमा सिफारिस गरेको भए पनि अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले ६० प्रतिशत बहुमतको आधारमा देव्यानी बस्नेतलाई नियुक्त गरेका थिए। यही निर्णयविरुद्ध परेको रिटमा अदालतले अल्पमत पक्षको दाबीलाई स्वीकार गरेको हो।
यस आदेशसँगै शिवानी बस्नेतलाई ‘ख’ वर्गका सेयरधनीको प्रतिनिधित्व गर्दै सञ्चालक बन्ने कानुनी बाटो खुलेको छ।
यसैबीच, शिवानी बस्नेत गैरआवासीय नेपाली भएको दाबी गर्दै नागरिकता नपेश गरेको आरोपमा कारबाही र जेल सजाय मागिएको अर्को रिटसमेत उच्च अदालतले खारेज गरेको छ। अदालतको निर्णयपछि उक्त दाबीले पनि कानुनी मान्यता पाएन।
पछिल्लो आदेशलाई बुद्ध एयरभित्र लामो समयदेखि चलिरहेको सेयरधनी विवादमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ।




