बुटवल, साउन ३ विराटपाटी । स्थानीय किसानको उत्पादनलाई उपभोक्तासम्म सिधै जोड्ने उद्देश्यले गुल्मीबाट सुरु भएको ‘पैँचो पसल’ ले संस्थागत विकासमा अर्को महत्वपूर्ण फड्को मारेको छ। कम्पनी अब ‘पैँचो पसल लिमिटेड’ का रूपमा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भई सञ्चालनमा आएको छ।

२०७१ सालमा गुल्मीको बलेटक्सारबाट सुरु भएको पैँचो अभियानले गाउँका किसानबाट कृषि उपज खरिद गरी बजार व्यवस्थापन गर्ने, आवश्यक कृषि सामग्री उपलब्ध गराउने र उत्पादनलाई मूल्य अभिवृद्धिसहित बिक्री गर्ने मोडल विकास गरेको थियो। हाल कम्पनीले ६० हजारभन्दा बढी किसानसँग प्रत्यक्ष सहकार्य गर्दै ६० भन्दा बढी सङ्कलन केन्द्र र १३ वटा आफ्नै स्टोरमार्फत सेवा विस्तार गरेको जनाएको छ।

कम्पनीका अनुसार पब्लिक लिमिटेडमा रूपान्तरणसँगै पूँजी विस्तार, संस्थागत सुशासन, आधुनिक प्रविधिमा लगानी, उत्पादन क्षमता वृद्धि तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार विस्तारलाई प्राथमिकता दिइनेछ।

प्रबन्ध निर्देशक ध्रुवराज न्यौपाने ले पैँचो केवल व्यापारिक संस्था नभई किसान, उपभोक्ता र स्वदेशी उत्पादनलाई जोड्ने साझा अभियान भएको उल्लेख गर्दै अब सर्वसाधारणलाई पनि यस यात्रामा सहभागी गराउने लक्ष्य रहेको बताए।

कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापकका रूपमा एनआईसी एसिया क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ भने नियामकीय प्रक्रिया पूरा भएपछि सर्वसाधारणका लागि शेयर जारी गरिनेछ।

हाल पैँचोले केचप, जाम, अचार, सिन्की, गुन्द्रुक, मह, कोदोको पिठो, मकैको आँटो लगायत १०० भन्दा बढी स्वदेशी कृषि तथा खाद्य उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीका उत्पादन नेपालका प्रमुख बजारसँगै अमेरिका, जापान, अस्ट्रेलिया, दुबई तथा युरोपका विभिन्न देशमा समेत निर्यात भइरहेका छन्।

कम्पनीले कृषकबाट उत्पादन भएका योग्य कृषि उपज खरिद गर्ने बाइ–ब्याक ग्यारेन्टी व्यवस्था लागू गर्दै किसानलाई बजारको सुनिश्चितता प्रदान गर्दै आएको जनाएको छ। आगामी दिनमा सङ्कलन केन्द्र विस्तार, कृषि प्रशोधन उद्योगमा थप लगानी, रोजगारी सिर्जना तथा नेपाली कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्ने रणनीति अघि बढाइने कम्पनीको भनाइ छ।