विराटनगर । नेकपा (एमाले) का कोशी प्रदेश प्रमुख सचेतक रमेशकुमार बस्नेतले कोशी प्रदेशको वर्तमान राजनीतिक अवस्था अत्यन्त संवेदनशील रहेको बताएका छन्। पार्टी मुख्यालय च्यासलमा आयोजित सांसद प्रशिक्षण कार्यक्रममा उनले सरकार परिवर्तनको प्रयास गर्दा सानो राजनीतिक त्रुटिले पनि प्रदेश मध्यावधि निर्वाचनतर्फ धकेलिन सक्ने चेतावनी दिएका हुन्।

बस्नेतका अनुसार कोशी प्रदेशमा हालसम्म पाँच पटक सरकार परिवर्तन भइसकेको छ भने तीन जना मुख्यमन्त्रीले नेतृत्व गरिसकेका छन्। अहिले प्रदेशसभामा ९३ मध्ये ९२ सदस्य कायम छन्। तीमध्ये एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपाका १७, राप्रपाका ४ र जसपाका १ सांसद रहेका छन्।

उनले वर्तमान सरकार संविधानको धारा १६८(५) अनुसार सञ्चालन भइरहेको उल्लेख गर्दै सरकारको विकल्प खोज्ने प्रक्रिया निकै जटिल रहेको बताए। राप्रपा सरकार गठनमा इच्छुक नदेखिएको र अन्य दलहरू मिल्दा पनि बहुमत अत्यन्तै झिनो हुने भएकाले सरकार परिवर्तन जोखिमपूर्ण बन्न सक्ने उनको भनाइ थियो।

बस्नेतले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभाबाट पारित भइसकेको जानकारी दिँदै अब कुनै पनि राजनीतिक निर्णय अत्यन्त सोचविचार गरेर मात्र गर्नुपर्ने बताए। उनका अनुसार यदि सरकार परिवर्तनको प्रयास असफल भयो भने कोशी प्रदेश मध्यावधि निर्वाचनमा जानुपर्ने अवस्था सिर्जना हुन सक्छ।

उनको भनाइले कोशी प्रदेशको सत्ता समीकरण अझै अस्थिर र संवेदनशील रहेको संकेत गरेको छ।