नेपालमा भोलि १,२५० मेट्रिक टन डीएपी मल आइपुग्ने
२०८३ श्रावण ४, सोमबार ११:४६
काठमाडौं। किसानलाई आवश्यक रासायनिक मलको आपूर्ति बढाउन सरकारले खरिद गरेको डीएपी मलमध्ये पहिलो खेप भोलि नेपाल आइपुग्ने भएको छ।
कृषि सामग्री कम्पनीका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गरिएको ३० हजार मेट्रिक टन डीएपी मलमध्ये १,२५० मेट्रिक टन पहिलो खेप भारतको कोलकाता बन्दरगाहबाट नेपालतर्फ पठाइएको हो। यो खेप सोमबार नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।
बाँकी डीएपी मल कोलकाता बन्दरगाहमा प्याकेजिङ (ब्यागिङ) प्रक्रियामा रहेको कम्पनीले जनाएको छ। प्याकेजिङ सम्पन्न हुनेबित्तिकै थप खेपहरू क्रमिक रूपमा वीरगञ्ज हुँदै नेपाल भित्रिनेछन्।
यसैबीच, ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ। हाल यसको अनलोडिङ र ब्यागिङ कार्य भइरहेको छ भने पहिलो रेक भोलिदेखि वीरगञ्जतर्फ पठाउने तयारी गरिएको कम्पनीले जानकारी दिएको छ।
सरकारले धान रोपाइँको मुख्य सिजनमा किसानलाई मल अभाव हुन नदिन डीएपी र युरिया दुवै मलको आपूर्ति तीव्र बनाएको जनाएको छ।




