काठमाडौंका विभिन्न क्षेत्रमा १२ दिन विद्युत् कटौती, दैनिक साढे पाँच घण्टा सेवा अवरुद्ध हुने
२०८३ मंसिर ४, बिहीबार १३:०५
विराटपाटी समाचार काठमाडौं, मंसिर ३, बिहीबार, काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् वितरण प्रणाली भूमिगत गर्ने कामका कारण १२ दिनसम्म दैनिक साढे पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा मंसिर ३ देखि १४ गतेसम्म विद्युत् कटौतीको तालिका सार्वजनिक गरेको हो। प्राधिकरणका अनुसार निर्धारित दिनहरूमा बिहान १०ः३० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।
प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार मंसिर ३ र ६ गते बलम्बु खोला पुल तथा नैकाप क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। मंसिर ४ गते लुम्बिनीदेखि शिफल ग्राउन्डसम्म र मंसिर ५ गते स्युचाटार पुल क्षेत्रमा विद्युत् कटौती हुनेछ।
त्यसैगरी, मंसिर ७ गते कोटेश्वर तथा इमाडोलका ईटीटीआर ८ र ९ क्षेत्रमा, मंसिर ८ गते बलम्बु खोला पुल र नैकाप क्षेत्रमा तथा मंसिर ९ गते कोटेश्वरका ईटीटीआर २६ए र ४ क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ।
मंसिर १० गते शिफल ग्राउन्डदेखि कालोपुलसम्म, ११ गते सतुङ्गलदेखि ढुंगेअड्डासम्म, १२ गते कोटेश्वरका ईटीटीआर ७ए र ८ क्षेत्रमा तथा १३ गते बलम्बुदेखि सगरमाथा स्याटेलाइट स्टेसनसम्म विद्युत् आपूर्ति बन्द गरिनेछ। मंसिर १४ गते पुनः शिफल ग्राउन्डदेखि कालोपुलसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
विद्युत् वितरण प्रणालीलाई आधुनिक र व्यवस्थित बनाउँदै भूमिगत तारमार्फत सुरक्षित तथा भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यले काम अघि बढाइएको प्राधिकरणको भनाइ छ।
यद्यपि, मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका परिवर्तन वा रद्द हुन सक्ने जनाइएको छ। विद्युत् कटौतीबाट दैनिक जनजीवन, व्यापार व्यवसाय तथा कार्यालय सञ्चालनमा असर पर्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक पूर्वतयारी गर्न प्राधिकरणले आग्रह गरेको छ।




