कांग्रेसभित्र संकट गहिरियो, असन्तुष्ट पक्षले राष्ट्रिय भेलाको मिति घोषणा
२०८३ श्रावण ६, बुधबार २०:५८
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको विवाद समाधान नभए नयाँ राजनीतिक बाटो रोज्ने संकेत गर्दै राष्ट्रिय भेलाको मिति सार्वजनिक गरेको छ।
बिपी स्मृति दिवसका अवसरमा आयोजित छुट्टै कार्यक्रममा नेताहरूले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने निर्णय सुनाएका हुन्। नेता प्रकाशमान सिंहका अनुसार सातै प्रदेशमा छलफल सम्पन्न भइसकेको र अब केन्द्रीय स्तरको भेलामार्फत आगामी रणनीति तय गरिनेछ।
इतर समूहले पार्टीको १५औँ महाधिवेशन सहमतिका आधारमा सम्पन्न हुनुपर्ने अडान दोहोर्याएको छ। उनीहरूले विशेष महाधिवेशनको प्रक्रियालाई लिएर नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसका कारण पार्टीभित्र विभाजनको अवस्था सिर्जना भएको आरोप लगाएका छन्।
यस समूहले सभापति गगन थापालाई साउन महिनाभित्र सहमतिको पहल गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र कुनै ठोस प्रयास नभए वैकल्पिक राजनीतिक निर्णय, नयाँ दल गठनसम्मको विकल्प खुला रहने चेतावनी नेताहरूले दिएका छन्।
राष्ट्रिय भेला कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक दिशाका लागि महत्वपूर्ण मोड बन्न सक्ने विश्लेषण गरिएको छ।




