काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आर्थिक वर्ष २०८२/८३ मा सम्पत्ति शुद्धीकरणसम्बन्धी ७ वटा मुद्दा दायर गर्दै १२१ जनालाई प्रतिवादी बनाएको जनाएको छ। विभागका अनुसार ती मुद्दामा कुल १ खर्ब १८ अर्ब ५ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरिएको छ।

विभागले सार्वजनिक गरेको वार्षिक विवरणअनुसार प्राप्त सूचना तथा उजुरीहरूलाई स्क्रिनिङ समितिबाट प्रारम्भिक अध्ययन गरिएपछि आवश्यक देखिएका विषयमा अनुसन्धान अधिकृत तोकी विस्तृत अनुसन्धान अघि बढाइन्छ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा वित्तीय लगानीसम्बन्धी कसुरको अनुसन्धान प्रभावकारी बनाउन विभागमा चार अनुसन्धान शाखासहित कानुन तथा परामर्श, अनुसन्धान समन्वय, प्रशासन तथा योजना र प्रहरी शाखाले संयुक्त रूपमा काम गरिरहेका छन्।

विभागले विशेषगरी राजस्व चुहावट, भन्सार, अन्तःशुल्क, व्यापारजन्य आर्थिक अपराध तथा मनी लाउन्डरिङ सम्बन्धी कसुरको अनुसन्धान गर्दै आएको छ। पछिल्लो समय आर्थिक अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै अनुसन्धान र अभियोजन प्रक्रियालाई थप तीव्र बनाइएको विभागको भनाइ छ।