कोशीका सशस्त्र प्रहरीका पाँच अधिकृत मुख्यालय तानिए, आन्तरिक छानबिन सुरु
२०८३ श्रावण ८, शुक्रबार १७:२४
विराटनगर। नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करीमा मिलेमतो, घुमुवा परिचालन तथा अवैध रकम असुली गरेको आरोपपछि कोशी प्रदेशमा कार्यरत सशस्त्र प्रहरी बलका पाँच जना अधिकृतलाई जिम्मेवारीबाट हटाएर मुख्यालय बोलाइएको छ। उनीहरूमाथि सशस्त्र प्रहरी मुख्यालयले आन्तरिक अनुसन्धान अघि बढाएको जनाएको छ।
अनुसन्धानको दायरामा झापा नम्बर २ हेडक्वार्टरका एसपी अम्बिकाप्रसाद जोशी, सुनसरी नम्बर ४ हेडक्वार्टरका एसपी श्यामकुमार कार्की, प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरका डीएसपी शम्शेर कार्की, इलामका डीएसपी लोकनाथ उप्रेती तथा सुनसरीको बीओपी लौकहीका इन्स्पेक्टर नरेन्द्र चन्द रहेका छन्।
मुख्यालयका अनुसार सीमा क्षेत्रमा हुने तस्करी, लागुऔषध ओसारपसार तथा अन्य अवैध गतिविधिलाई सहजीकरण गरेको र त्यसबापत आर्थिक लाभ लिएको भन्ने गम्भीर गुनासो तथा कर्मचारीहरूको बयानका आधारमा अनुसन्धान अघि बढाइएको हो।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीले केही युनिटका इन्चार्जविरुद्ध गम्भीर प्रकृतिका उजुरी प्राप्त भएकाले निष्पक्ष छानबिनका लागि मुख्यालय बोलाइएको पुष्टि गरेका छन्। उनका अनुसार आरोप पुष्टि भए विभागीय तथा कानुनी कारबाही हुनेछ भने पुष्टि नभए सम्बन्धित अधिकारीलाई पुनः जिम्मेवारीमा फर्काइनेछ।
यसैबीच अनुसन्धानमा परेका केही अधिकृतहरूले भने आफूहरूलाई तस्करी सम्बन्धी आरोपका कारण नभई प्रशासनिक काम, तालिम वा आवश्यक छलफलका लागि मुख्यालय बोलाइएको दाबी गर्दै सबै आरोप अस्वीकार गरेका छन्।
घटनापछि झापा र सुनसरीमा नयाँ प्रमुख खटाइएको छैन। हाल ती कार्यालयहरूको जिम्मेवारी निमित्त प्रमुखमार्फत सञ्चालन भइरहेको छ।
सीमा क्षेत्रमा तस्करी बढेको भन्दै लामो समयदेखि स्थानीय तह, व्यवसायी र सर्वसाधारणबाट गुनासा उठिरहेका बेला सुरक्षा निकायका उच्च अधिकारीमाथि नै अनुसन्धान सुरु भएपछि सीमा सुरक्षा प्रणालीको पारदर्शिता, जवाफदेहिता र प्रभावकारिताबारे नयाँ बहस सुरु भएको छ। सशस्त्र प्रहरी बलले भने सीमा क्षेत्रमा हुने अवैध गतिविधिप्रति शून्य सहनशीलताको नीति कायम रहेको दोहोर्याएको छ।




