काठमाडौं, १० साउन। त्रिभुवन विश्वविद्यालयअन्तर्गत एमबीएस तहको प्रश्नपत्र बाहिरिएको घटनालाई लिएर स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गम्भीर आपत्ति जनाएको छ।

स्ववियुले प्रश्नपत्र कसरी बाहिरियो, त्यसमा को–को संलग्न थिए र परीक्षा प्रणालीको गोपनीयता कसरी भंग भयो भन्ने विषयमा दुई दिनभित्र निष्पक्ष छानबिन गरी तथ्य सार्वजनिक गर्न माग गरेको छ।

स्ववियु अध्यक्ष दीपक जोशीले परीक्षाको निष्पक्षता र विश्वविद्यालयको विश्वसनीयतामाथि प्रश्न उठ्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएका छन्। उनका अनुसार दोषी पहिचान गरी कानुनी तथा प्रशासनिक कारबाही अघि बढाउनुपर्छ।

स्ववियुले घटनाको नैतिक जिम्मेवारी लिँदै व्यवस्थापन संकायका डीन र परीक्षा हेर्ने सहायक डीनले पदबाट राजीनामा दिनुपर्ने मागसमेत अघि सारेको छ।

यसैबीच, प्रश्नपत्र चुहावटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विश्वविद्यालयले पनि घटनाको वास्तविकता पत्ता लगाउन छानबिन समिति गठन गरिसकेको छ।

प्रश्नपत्र बाहिरिएको घटनाले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणाली, प्रश्नपत्रको सुरक्षा तथा गोपनीयता व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ। छानबिनबाट घटनाको वास्तविक कारण र जिम्मेवार पक्ष पहिचान हुने अपेक्षा गरिएको छ।