सुनसरीमा तनावपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा व्यवस्था कडा
२०८३ श्रावण ११, सोमबार १०:३६
इनरुवा विराटपाटी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
आइतबार राति बोलबम यात्राको तयारीका क्रममा बजाइएको डिजेको आवाजलाई लिएर सुरु भएको विवाद केही समयमै दुई समूहबीचको झडपमा परिणत भएको थियो। स्थिति नियन्त्रणमा लिन पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि समेत ढुंगा, इँटा, बाँस तथा अन्य वस्तुले आक्रमण भएपछि प्रहरीले बल प्रयोग गरेको जनाइएको छ।
प्रहरीमाथिको आक्रमण बढ्दै गएपछि सुरुमा हवाई फायर र अश्रुग्यास प्रयोग गरिएको थियो। त्यसपछि पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाइएको प्रहरीले जनाएको छ।
घटनामा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ। गोली लागेर अर्का एक युवक गम्भीर घाइते भएका छन्। घटनामा नेपाल प्रहरीका ८, सशस्त्र प्रहरीका ५ र सर्वसाधारण ९ गरी कम्तीमा २२ जना घाइते भएका छन्।
घाइतेहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।
घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा सुरक्षा उपस्थिति बढाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिएको छ भने सम्भावित थप झडप रोक्न प्रशासनले दुवै पक्षसँग छलफल तथा समन्वय गरिरहेको जनाएको छ।
झडपपछि विभिन्न स्थानमा विरोध प्रदर्शनसमेत भएका छन्। परिस्थितिलाई थप संवेदनशील बन्न नदिन प्रशासनले सर्वसाधारणलाई संयमित रहन र कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ।
धार्मिक विषय जोडिएर सुरु भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि सुनसरीको अवस्था अहिले सुरक्षा निकायको उच्च निगरानीमा रहेको छ।




