विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा नेकपा एमालेभित्रै विवाद देखिएको छ। पार्टी नेतृत्वले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई नयाँ मुख्यमन्त्री बनाउने तयारी अघि बढाए पनि कार्कीले व्यक्तिगत निर्देशनका आधारमा पदबाट राजीनामा नदिने अडान लिएका छन्।

एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटबारे सहमति बनेपछि कोशीमा मुख्यमन्त्री परिवर्तनको चर्चा तीव्र भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश संसदीय दलका उपनेता तथा ताप्लेजुङ–१ (क) बाट निर्वाचित तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने विषयमा छलफल अघि बढाएको बताइएको छ।

तर मुख्यमन्त्री कार्कीले आफू संविधानको धारा १६८ को उपधारा (५) अनुसार बहुमत सांसदको समर्थनमा नियुक्त भएकाले सहज रूपमा राजीनामा दिँदा संवैधानिक जटिलता उत्पन्न हुनसक्ने तर्क गर्दै आएका छन्।

कार्कीले आवश्यक परे पार्टीको औपचारिक तथा संस्थागत निर्णयबाट मात्रै आफ्नो पदबारे टुंगो लाग्नुपर्ने बताएका छन्। उनका अनुसार व्यक्तिगत निर्देशनका आधारमा सरकार परिवर्तन गर्नेभन्दा पार्टीको सचिवालय वा सम्बन्धित संस्थागत निकायबाट निर्णय हुनु उपयुक्त हुन्छ।

‘अहिले म मुख्यमन्त्री हुँ र सरकारको निरन्तरता हुन्छ,’ भन्ने उनको धारणा रहेको बताइएको छ। उनले पार्टीभित्रको निर्णय प्रक्रियालाई सम्मान गर्ने तर व्यक्तिगत आग्रहका आधारमा राजीनामा नदिने संकेत गरेका छन्।

यसबीच कोशी प्रदेशमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच सहकार्य भए सरकार गठनका लागि आवश्यक बहुमत सहजै पुग्ने अवस्था छ। ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेपाली कम्युनिष्ट पार्टीका १७, राप्रपाका ५ र जसपाका १ सांसद छन्।

एमाले र नेपाली कम्युनिष्ट पार्टीको कुल संख्या ५७ पुग्ने भएकाले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने देखिन्छ। त्यसैले नेतृत्व परिवर्तनको राजनीतिक अंकगणित एमाले र नेकपाको सहकार्यबाट सहज हुने भए पनि वर्तमान मुख्यमन्त्रीको संवैधानिक तथा राजनीतिक अडानले प्रक्रिया जटिल बन्न सक्ने देखिएको छ।

मुख्यमन्त्री परिवर्तनको विषय अब पार्टीभित्रको राजनीतिक निर्णयसँगै संविधानको धारा १६८ को प्रयोग र त्यससँग जोडिएका संवैधानिक प्रश्नमा समेत निर्भर हुने देखिएको छ।