विराटनगर। संस्कृत शिक्षा, धर्म, साहित्य, समाजसेवा र मानवीय मूल्यका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका स्वर्गीय पं. खगेश्वर न्यौपानेको जीवन, व्यक्तित्व र कृतित्वलाई समेटेर प्रकाशित ‘पं. खगेश्वर न्यौपाने स्मृति पृष्ठ’ कृतिमाथि विराटनगरमा परिचर्चा तथा कृति समर्पण कार्यक्रम सम्पन्न भएको छ।

परिचर्चाका क्रममा गोकुल अधिकारीले ‘स्मृति पृष्ठ’ कुनै व्यक्तिको सम्झनामा प्रकाशित पुस्तक मात्र नभई समाजको इतिहास, संस्कृति र सभ्यतालाई सुरक्षित राख्ने महत्वपूर्ण दस्तावेज भएको बताए। उनले पं. खगेश्वर न्यौपानेले शिक्षा, संस्कार र साहित्यमा पुर्‍याएको योगदान भावी पुस्तासम्म हस्तान्तरण गर्नु समयको आवश्यकता रहेको उल्लेख गरे।

पत्रकार अनन्तराज न्यौपानेले पं. न्यौपाने परिवारको सीमाभन्दा माथि उठेर समाजले सम्झनुपर्ने व्यक्तित्व भएको बताए। उनले ज्ञान, नैतिकता, संस्कार र सामाजिक उत्तरदायित्वप्रति उहाँको अटल प्रतिबद्धताले समाजमा सकारात्मक चेतना फैलाएको धारणा व्यक्त गरे।

डा. वेदप्रसाद काफ्लेले पं. न्यौपानेको जीवन शिक्षा, सामाजिक उत्तरदायित्व र निरन्तर सक्रियताको प्रेरणादायी उदाहरण भएको उल्लेख गरे। त्यस्तै प्रा. कविराज न्यौपानेले संस्कृत शिक्षा तथा वैदिक परम्पराको संरक्षणमा उहाँले पुर्‍याएको योगदानको चर्चा गर्दै अध्ययन, साधना र सेवाको जीवन्त आदर्शका रूपमा उहाँलाई स्मरण गरे।

प्रा. डा. बाबुराम तिमल्सिनाले पं. न्यौपानेको जीवनमा शिक्षा, अनुशासन, संस्कार र सामाजिक उत्तरदायित्वको अद्भुत समन्वय रहेको उल्लेख गर्दै उहाँका विचार र जीवनदर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।

प्रा. डा. भेषप्रसाद धमलाले स्मृति–ग्रन्थहरूले इतिहासलाई जीवन्त राख्ने उल्लेख गर्दै ‘पं. खगेश्वर न्यौपाने स्मृति पृष्ठ’ ले एउटा व्यक्तित्वसँगै एक युगको सामाजिक, शैक्षिक र सांस्कृतिक चेतनालाई अभिलेखीकरण गरेको धारणा व्यक्त गरे।

प्रा. डा. मीनाक्षी नेपालले पं. न्यौपानेको सरलता, विनम्रता, नैतिकता र मानवीय संवेदनाको स्मरण गर्दै उहाँका आदर्श आजको पुस्ताले आत्मसात् गर्नुपर्ने बताइन्।

पत्रकार कृष्ण अधिकारीले पं. न्यौपानेलाई ब्रह्मचारी षडानन्द गुरुको जीवनदर्शनसँग तुलना गर्दै विद्यालय स्थापना, सञ्चालन तथा संस्कृत शिक्षाको प्रवर्द्धनमा उहाँले दिनरात समर्पित भएर गरेको अथक प्रयास अनुकरणीय रहेको बताए।

साहित्यकार गंगा सुवेदीले कृतिमा चित्रित पं. न्यौपानेको व्यक्तित्व वास्तविक जीवनसँग पूर्णतः मेल खाने उल्लेख गर्दै उहाँ व्यवहार, विचार र आचरणमा समान रूपमा उच्च आदर्श बोकेको व्यक्तित्व भएको बताए।

कार्यक्रमका प्रमुख अतिथि पं. भावानीशंकर निरौलाले व्यक्तिको वास्तविक परिचय उसको सम्पत्ति वा पदले होइन, समाजका लागि छाडेर गएको विचार, संस्कार र कर्मले निर्धारण गर्ने बताए। उनले ‘पं. खगेश्वर न्यौपाने स्मृति पृष्ठ’ ले उहाँको योगदानलाई दीर्घकालसम्म जीवन्त राख्ने विश्वास व्यक्त गरे।

कृति प्रकाशनका तर्फबाट धन्यवाद ज्ञापन गर्दै नाति तथा प्रकाशक दर्शनराज न्यौपानेले यो कृति परिवारको श्रद्धाञ्जलिमा मात्र सीमित नभई पं. खगेश्वर न्यौपानेका विचार, आदर्श, संस्कार र जीवनदर्शनलाई भावी पुस्तासम्म पुर्‍याउने साझा अभियान भएको बताए। उनले कृति प्रकाशनमा योगदान पुर्‍याउने लेखक, सम्पादक, समीक्षक, शुभेच्छुक तथा सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गर्दै पं. न्यौपानेका आदर्शलाई व्यवहारमा उतार्नु नै उहाँप्रतिको सच्चा सम्मान हुने धारणा राखे।

कार्यक्रमका अध्यक्ष पुरुषोत्तम न्यौपानेले स्मृति–ग्रन्थ प्रकाशनमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिप्रति धन्यवाद व्यक्त गर्दै पं. खगेश्वर न्यौपानेले स्थापित गरेका ज्ञान, संस्कार, नैतिकता र मानवीय मूल्यलाई पुस्तान्तरण गर्नु सबैको साझा जिम्मेवारी भएको बताए

पाणिनि संस्कृत विद्यालय, विराटनगर–४, बरगाछीमा आयोजित कार्यक्रममा विद्वत् समाज, साहित्यकार, शिक्षाविद्, पत्रकार, समाजसेवी, विद्यार्थी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेकाेका भनी उद्घोषक प्रा भावुक राज न्यौपानेको जानकारी दिनुभयो

पाणिनि संस्कृत विद्यालय परिवारको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागी अधिकांश वक्ताहरूको साझा निष्कर्ष थियो, ‘पं. खगेश्वर न्यौपाने स्मृति पृष्ठ’ केवल एउटा स्मरण–ग्रन्थ होइन, ज्ञान, संस्कार, शिक्षा, समाजसेवा र मानवीय मूल्यको जीवन्त दस्तावेज हो, जसले पं. खगेश्वर न्यौपानेको व्यक्तित्व, कृतित्व र योगदानलाई भावी पुस्तासम्म प्रेरणाका रूपमा जीवित राख्नेछ।