कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए पद तथा गोपनीयताको शपथ
२०८३ श्रावण १३, बुधबार १६:०७
सुर्खेत, साउन १३। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले उनलाई शपथ गराएका हुन्।
नेकपा संसदीय दलका नेता शाही संविधानको धारा १६८ (२) बमोजिम मंगलबार कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त भएका थिए। प्रदेश सभामा नयाँ सत्ता समीकरण बनेपछि उनी मुख्यमन्त्री बनेका हुन्।
४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्ने व्यवस्था छ। वर्तमान समीकरणअनुसार नेकपा र एमालेसँग संयुक्त रूपमा २४ सांसदको समर्थन रहेको छ, जसका आधारमा शाहीको नेतृत्वमा नयाँ सरकार गठन भएको हो।
यसअघि साउन ९ गते नेकपा र एमालेबीच कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपालाई दिने सहमति भएको थियो। सोही राजनीतिक समझदारीका आधारमा दुवै दलका संसदीय दलका नेताको सिफारिसपछि प्रदेश प्रमुखले शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।
मुख्यमन्त्री शाहीले शपथसँगै प्रदेशमा राजनीतिक स्थायित्व, विकास निर्माण र सुशासनलाई प्राथमिकतामा राखेर सरकार सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। अब केही दिनभित्र मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।




