काठमाडौं, साउन १४ — सुनसरीमा विकसित पछिल्लो सुरक्षा अवस्था र स्थानीय तनावलाई मध्यनजर गर्दै गृहमन्त्री सुधन गुरुङ सुनसरीतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्रीसँग छलफल गरेपछि गृहमन्त्री गुरुङ घटनास्थलतर्फ लागेका हुन्। प्रधानमन्त्री कार्यालयका अनुसार स्थानीय जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकायसँग समन्वय गर्दै उनले घटनास्थलको प्रत्यक्ष अवलोकन गर्नेछन्।

पछिल्ला केही दिनयता सुनसरीमा भएको हिंसात्मक घटनाले राष्ट्रिय चासो बढाएको छ। सरकारले घटनाको वस्तुगत मूल्याङ्कन, शान्ति सुरक्षा कायम गर्ने उपाय तथा स्थानीय सरोकारवालासँग छलफललाई प्राथमिकतामा राखेको जनाएको छ।

गृहमन्त्रीको भ्रमणबाट स्थानीय जनतामा विश्वासको वातावरण सिर्जना हुने, सुरक्षा व्यवस्थापन थप प्रभावकारी बन्ने र समस्याको दीर्घकालीन समाधान खोज्ने प्रयासले गति लिने अपेक्षा गरिएको छ।